सुशीला कार्की अन्तरिम सरकारको नेतृत्वमा : संसद् विघटन गर्ने सहमति


काठमाडौं । नेपालको राजनीतिक संकट समाधानतर्फ निर्णायक मोड आएको छ। लामो अनिर्णय र आन्दोलनबिच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति आजै बेलुकी जुटेको छ।

शुक्रवार दिनभर चलिएको तीव्र राजनीतिक तथा कूटनीतिक छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने र नयाँ अन्तरिम संरचना बनाउन राष्ट्रपति रामचन्द्र पौडेल तयार भएको स्रोतले जनाएको छ।

राष्ट्रपति पौडेलले बिहानैदेखि दलका शीर्ष नेतासँग, प्रधानसेनापति र आन्दोलनरत जेनजीका प्रतिनिधिसँग श्रृंखलाबद्ध भेटवार्ता गरेका थिए। त्यही क्रममा गएराति नै अन्तरिम सरकार प्रमुखको रूपमा अघि सारिएकी कार्कीलाई पनि शीतल निवासमा बोलाएर छलफल गरिएको थियो।

स्रोतका अनुसार, कार्कीले आफूलाई अघि बढाउन चाहिने आधार र स्वतन्त्रताबारे स्पष्ट अडान राखेकी थिइन्। उता, निरन्तरको सडक आन्दोलनले देश अस्तव्यस्त बनेको र तत्काल समाधान खोज्नुपर्ने दबाब बढ्दै गएपछि प्रमुख दलका नेताले पनि सहमति जनाएका छन्।

पूर्वप्रधानन्यायाधीश कार्की नेपालको न्यायपालिकाको नेतृत्व गर्ने पहिलो महिला हुन्। उनको व्यक्तित्व, अडान र इमानदार छविका कारण जनस्तरमा समेत ठुलो विश्वास कायम रहेको देखिन्छ। त्यसैले आन्दोलनरत युवाहरूले समेत उनको नेतृत्वप्रति समर्थन जनाएका स्रोतले बताएका छन्।

यससँगै प्रतिनिधिसभा विघटनपछि नयाँ अन्तरिम सरकार गठनको घोषणा गर्ने तयारी भएको र आज बेलुकी नै यसको औपचारिक घोषणा हुने उच्च स्रोतको दाबी छ।

प्रतिक्रिया दिनुहोस्