काठमाडौं। देश राजनीतिक संकटमा फसेको संवेदनशील घडीमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख दलका नेताहरूसँग परामर्श गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउनुपर्ने सन्देश दिएका छन्।
स्रोतका अनुसार राष्ट्रपति पौडेलले आफ्नो सन्देश सभामुख देवराज घिमिरेमार्फत कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाएका छन्। त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि उपमहासचिव वर्षमान पुनको समन्वयमा शीतलनिवासबाटै टेलिफोन वार्ता भएको बताइएको छ।
राष्ट्रपति पौडेलले काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग टेलिफोनमा कुरा गर्दै सभापति शेरबहादुर देउवालाई समेत सन्देश पुर्याएका छन्। यसअघि जेन–जी समूहले भर्चुअल मतदानमार्फत पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको नेतृत्वका लागि अघि सारेको थियो, जसलाई काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले समर्थन गरेका थिए। तर, बालेनले संसद् विघटन र संवैधानिक निकायका नियुक्ति खारेजी हुने सर्त पनि राखेका छन्।
बिहीबार शीतलनिवासमा बसेको महत्त्वपूर्ण छलफलमा राष्ट्रपति पौडेलसँगै प्रधानसेनापति अशोकराज सिग्देल, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र कानुनविद् ओमप्रकाश अर्याल सहभागी रहेका थिए। यसअघि पनि राष्ट्रपति तर्फबाट सेनापति सिग्देलले जेन–जी समूह, धरानका मेयर हर्क साम्पाङ र व्यवसायी दुर्गा प्रसाईंलगायतसँग वार्ता गरेका थिए। सिग्देलले आन्दोलनरत पक्षका प्रतिनिधिसँग दिनभर विभिन्न एकल र सामूहिक छलफल गरेका थिए।
यसैबिच, राष्ट्रपतिले संविधानविद्हरू सूर्य ढुंगेल, पूर्णमान शाक्य, चन्द्रकान्त ज्ञवाली, भीमार्जन आचार्य र ललित बस्नेतलाई शीतलनिवासमा बोलाएर परामर्श पनि लिएका थिए। ती संविधानविद्हरूसँगको छलफलमा “संविधानलाई कमभन्दा कम क्षति पुर्याउँदै संकटको निकास दिने अधिकार राष्ट्रपतिमा निहित हुन्छ” भन्ने निष्कर्षमा पुगेको स्रोतले जानकारी दिएको छ।
देशमा आन्दोलन र अस्थिरता बढ्दो क्रममा रहेका बेला राष्ट्रपतिले अघि सारेको यो पहल अब प्रमुख दलहरूको सहमतिबाट मूर्त रूप लिने कि नलिने भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ।