काठमाडौं । आगामी सरकारको नेतृत्वलाई लिएर उत्पन्न भएको असन्तुष्टिलाई सम्बोधन गर्न नेपाली सेनाले जेनजी आन्दोलनरत प्रतिनिधिहरूलाई भोलि बिहान सम्पर्कमा आउन आग्रह गरेको छ।
जंगीअड्डा बाहिर सेनाका प्रतिनिधिहरूले माइकिङमार्फत समूहका नेतृत्वकर्ताहरूलाई औपचारिक सम्पर्कमा आउन र नामसहित सूची बुझाउन आग्रह गरेका हुन्। ‘को–को हुनुहुन्छ नेतृत्वकर्ता, कतिजना हुनुहुन्छ, त्यो ग्रुपबाट फोन नम्बर र नामसहित भोलि बिहान सम्पर्क गर्नुहोला,’ सेनाको आग्रहमा भनिएको छ।
नेपाली सेनाको यो कदम त्यति बेला आएको हो जब सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अघि सार्ने प्रस्तावपछि आन्दोलनभित्र विवाद चर्किएको छ। बुधवार दिउँसो जेनजी प्रतिनिधिहरूले औपचारिक रूपमा कार्कीको नाम प्रस्ताव गरेका थिए तर बाहिर भेला भएका युवाहरूले त्यस विरुद्ध नाराबाजी गर्दै असन्तुष्टि जनाएका छन्।
यसबिच, सेनाको मुख्यालयअगाडि जेनजी युवाहरूले नयाँ नेतृत्व चयनको विषयलाई लिएर प्रदर्शन गरिरहेका छन्। नेतृत्व चयनमा मतभिन्नता बढ्दै गएपछि आन्दोलनभित्र विभाजन देखिएको छ भने सेनाले भने वार्ता र सहमतिमार्फत शान्तिपूर्ण निकास खोज्न आह्वान गरेको छ।