काठमाडौं । भदौ २४ गतेको आगजनीपछि सर्वोच्च अदालतले सम्पूर्ण मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ। अदालत प्रशासनले मंगलबार हस्तलिखित सूचना जारी गर्दै अर्को सूचना नभएसम्म सेवा अवरुद्ध रहने स्पष्ट पारेको हो।
मुख्य रजिष्टारद्वारा जारी सूचनामा आगजनीका कारण अदालतको संरचना पूर्ण रूपमा नष्ट भएको उल्लेख छ। मिसिलदेखि इजलास, सर्भरसहित सम्पूर्ण दस्तावेज जलेर नष्ट भएकोले तत्काल कुनै पनि मुद्दाको सुनुवाइ सम्भव नरहेको जनाइएको छ।
‘भदौ २४ गतेको आगजनीले सर्वोच्च अदालत पूर्णरूपमा ध्वस्त भएकाले आजका लागि तोकिएका मुद्दा स्थगित गरिएका छन्। भोलिदेखि पेसीमा रहेका मुद्दाहरूको सुनुवाइ अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ,’ सूचनामा भनिएको छ।
अदालतले यस घटनाबाट सर्वसाधारण सेवाग्राहीमा परेको असुविधाप्रति गहिरो दुःख व्यक्त गरेको छ।
मंगलबारको प्रदर्शनका क्रममा सर्वोच्च अदालतसँगै महान्यायाधिवक्ता कार्यालय, जिल्ला अदालत, जिल्ला सरकारी वकिल कार्यालय र विशेष सरकारी वकिल कार्यालयमा समेत आगजनी भएको थियो।