काठमाडौँ । आगामी अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अघि सारिएपछि जेनजी आन्दोलनकारी युवाहरूबिच गम्भीर विवाद चर्किएको छ। बुधवार दिउँसो बसेको जेन–जी नेपालले आयोजना गरेको भर्चुअल बैठकमा सहभागीहरूको बहुमतले कार्कीलाई अन्तरिम सरकारको अध्यक्षको रूपमा प्रस्ताव गरेको भए पनि, त्यसप्रति केही युवाले सडकबाटै असहमति जनाउँदै विरोध प्रदर्शन थालेका हुन्।
नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाबाहिर जेनजी युवाहरूले ‘नयाँ नेतृत्वमा कार्की होइन’ भन्दै नाराबाजी गरेका छन्। उनीहरू मध्ये धेरैले काठमाडौं महानगरका मेयर बालेन शाहलाई विकल्पका रूपमा अघि सार्नु पर्ने धारणा राखेका छन्। तर शाह सम्पर्कमा नआएको भन्दै कतिपय युवाहरू असन्तुष्ट देखिएका छन्। मंगलबार बेलुकी मात्र उनले सामाजिक सञ्जालमार्फत जेनजीलाई सेना प्रमुखसँग वार्ताका लागि तयार रहन आह्वान गरेका थिए।
यस्तो अवस्थामा नेपाली सेनाले आन्दोलनरत जेनजी युवाहरूलाई संयमित रहन आग्रह गर्दै, नेतृत्व स्पष्ट पार्न भोलि बिहानै सम्पर्कमा आउन अनुरोध गरेको छ। सेनाका प्रतिनिधिले जङ्गी अड्डाबाहिर माइकिङमार्फत जानकारी दिँदै भने, “को–को हुनुहुन्छ नेतृत्वकर्ता, कतिजना हुनुहुन्छ, त्यो समूहबाट फोन नम्बर र नामसहित भोलि बिहान एक–एक जना ग्रुप लिडरको नाम लेखेर हामीलाई दिनुहोस्।”
अन्तरिम सरकारको नेतृत्वको संवेदनशील बहससँगै आन्दोलनकारी युवाहरूबिचको मतभेद अझ सतहमा आएको छ भने सेनाले संयमता र संवादमार्फत समाधान खोज्नुपर्नेमा जोड दिएको छ।