मोरङमा कर्फ्यु आदेश जारी : आज साँझ ५ बजेदेखि भोलि बिहान ६ बजेसम्म लागू


विराटनगर । मोरङ जिल्लामा मङ्गलवार साँझदेखि कर्फ्यु आदेश जारी गरिएको छ। विभिन्न समूहले राखेका मागसहित विराटनगर महानगर र जिल्लाका विभिन्न स्थानमा प्रदर्शन भइरहेकाले हिंसात्मक गतिविधि, हुलदंगा वा अशान्ति हुने आशंका गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।

जिल्ला सुरक्षा समितिको मिति २०८२ भदौ २५ गतेको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश लागू गरिएको हो। आदेशअनुसार भदौ २५ गते साँझ ५ बजेदेखि भदौ २६ गते बिहान ६ बजेसम्म विराटनगरसहित मोरङ जिल्लाभर कुनै पनि किसिमका सभा, जुलुस, भेला, धर्ना जस्ता गतिविधि गर्न पाइने छैन।

दमकल, एम्बुलेन्स, शववाहन र स्वास्थ्यकर्मी आवतजावत भने कर्फ्युको दायराबाट मुक्त रहने प्रशासनले स्पष्ट पारेको छ। आदेशको उल्लङ्घन भएमा प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी समेत दिइएको छ। कर्फ्यु आदेश प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले जारी गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्