आठौँ बेलबारी आरजु राईस मेजर स्व. एन.बि. रुमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप २६ देखि

डेढ तोला सुन, ३ किलो चाँदीको आकर्षक ट्रफी विजेतालाई


बेलबारी । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित प्रस्तावित रंगशालामा आठौँ बेलबारी आरजु राईस मेजर स्व. एन.बि. रुमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप–२०८२ हुने भएको छ । एलएक्स सिटी फुटबल क्लबको आयोजनामा असोज २६ गतेदेखि कार्तिक १ गतेसम्म प्रतियोगिता हुने जानकारी मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

आयोजकका अनुसार प्रतियोगितामा ८ टिम सहभागी हुने छन् । नेपालका आयोजक एल एक्स सिटी फुटबल क्लबसहित साबिक विजेता झापा–११ फुटबल क्लब झापा, उपविजेता सलहेश युवा क्लब सिरहा, चर्च ब्वाईज युनाईटेड ललितपुर, बि डिभिजन लिग च्याम्पियन प्लानिङ ब्वाईज युनाईटेड, रारा फुटबल क्लब राजारानी धनकुटा, भोजपुर जिल्ला फुटबल सङ्घ भोजपुर, र भारतको लिजेण्ड फुटबल एकेडेमी रहने आयोजक समितिले जनाएको छ ।

पत्रकार सम्मेलनमा आयोजक क्लबका महासचिव शम्भु बस्नेतले प्रतियोगितामा देश–विदेशका ख्यातिप्राप्त क्लबहरूको सहभागिता रहने बताएका छन् । उनले उद्घाटन र समापन समारोह अन्तर्राष्ट्रिय स्तरको हुने उल्लेख गर्दै डेढ तोला सुन र ३ केजी चाँदी जडित आकर्षक रनिङ ट्रफी विजेतालाई प्रदान गरिने जानकारी दिएका छन् । साथै स्थानीय प्रतिभाहरूद्वारा सांगीतिक प्रस्तुति, जातीय सांस्कृतिक झाँकी र वृहत् स्काउट मार्चपाससमेत आकर्षणको रूपमा प्रस्तुत गरिनेछ । रनिङ ट्रफी पूर्णरूपमा आफ्नो स्वामित्वमा प्राप्त गर्नका लागि कुनै पनि टिमले लगातार तीन पटक प्रतियोगिता जित्नुपर्ने व्यवस्था रहेको आयोजक समितिले जानकारी दिएको छ ।

खेललाई निष्पक्ष र सुरक्षित बनाउन अन्तर्राष्ट्रियस्तरका रेफ्री, लाइन्सम्यान र एम्पायर परिचालन गरिने तयारी भएको आर्थिक संयोजक शिव राईले जनाएका छन् । सम्भावित दुर्घटना र चोटपटक न्यूनीकरणका लागि स्वास्थ्यकर्मी र एम्बुलेन्स तयारी अवस्थामा रहनेछन् भने सुरक्षा व्यवस्थाका लागि प्रहरी, सशस्त्र प्रहरी, स्थानीय युवा क्लब र सिसीटिभीमार्फत संयुक्त संयन्त्र परिचालन गरिने आर्थिक संयोजक राईले जानकारी दिएका छन् ।

प्रतियोगिताको आय–व्ययबारे राईले अनुमानित आम्दानी ७२ लाख रुपैयाँभन्दा बढी हुने र खर्च करिब ६३ लाख रुपैयाँ हुने जनाएका छन् । विजेताले आठ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले चार लाख रुपैयाँ पाउनेछन् । साथै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी र म्यान अफ द म्याचलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ । गत वर्षको सातौँ संस्करणमा झापा–११ फुटबल क्लब, बिर्तामोड विजयी भएको स्मरण गर्दै लेखा समिति सदस्य सूर्य अधिकारीले यस पटक अझ भव्य र व्यवस्थित ढङ्गले प्रतियोगिता सम्पन्न गर्न तयारी भइरहेको बताए ।

मुख्य प्रायोजक आरजु राइस मिल र आयोजक एलएक्स सिटी फुटबल क्लबबिच दीर्घकालीन सहकार्यको समझदारी भएको अध्यक्ष विक्रम राईले जानकारी दिएका छन् । उनले राइस मिलले कृषि आधुनिकीकरण र चामल उत्पादनमा आत्मनिर्भरता अभियानसँगै खेलकुद क्षेत्रमा पनि लगानी गर्दै आएको बताए । बेलबारी नगरपालिकासहित विभिन्न व्यावसायिक र सामाजिक संस्थाको सहकार्यमा प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्दै उनले यस आयोजनाको उद्देश्य खेलकुदमार्फत मनोरञ्जन, नयाँ खेलाडी उत्पादन, उत्कृष्ट खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउने र खेललाई व्यवसायीकरण गर्ने रहेको स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का केन्द्रीय सदस्य दीपेन्द्र धिमाल, मोरङ एन्फाका अध्यक्ष तथा वरिष्ठ प्रशिक्षक सञ्जीव बुढाथोकीलगायत उपस्थित थिए । उनीहरूले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण खेलप्रेमी र समुदायलाई सक्दो सहयोग गर्न अपिल गरेका छन् । पत्रकार सम्मेलनको सञ्चालन राजकुमार श्रेष्ठले गरेका थिए भने पत्रकार सम्मेलन क्लब अध्यक्ष विक्रम राईको अध्यक्षतामा सम्पन्न भएको हो ।

आयोजक समितिले आय–व्यय पारदर्शी रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्दै बेलबारीलाई स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा खेलकुदको केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित आठौँ संस्करणको गोल्डकपलाई ऐतिहासिक बनाउन तयारी तीव्र रूपमा अगाडि बढाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्