काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आगामी अन्तरिम सरकारको नेतृत्व गर्न आफू तयार रहेको स्पष्ट गरेका छन्। जंगीअड्डा पुगेका उनले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटेर निस्किने क्रममा सञ्चारकर्मीसँग भने, “म त रेडि नै छु।”
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेतृत्वको प्रस्ताव अघि सारिएसँगै जेनजी समूहमा विवाद उत्पन्न भएको छ। नेपाली सेनाको मुख्यालय अगाडि जेनजी युवाहरूले नयाँ नेतृत्वको विषयमा नाराबाजी गर्दै विरोध प्रदर्शन गरिरहेका छन्। उनीहरूले कार्कीलाई अन्तरिम सरकारको अध्यक्ष बनाउन नहुने भन्दै असहमति जनाइरहेका छन्।
उता, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले कार्कीको नेतृत्वलाई समर्थन गरेको दाबी गरिएको छ। यसैबिच, साम्पाङले पनि आफ्नो दाबी प्रस्तुत गर्दै आफू नेतृत्वको लागि तयार रहेको बताएका छन्।
राजनीतिक समीक्षकहरूले यस्तो अवस्थामा नेतृत्व चयन र संयमित संवाद दुवै अपरिहार्य रहेको टिप्पणी गरेका छन्। जेनजी आन्दोलनको संवेदनशील परिस्थितिमा राष्ट्रिय एकता र सुरक्षा कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आवश्यक रहेको बताइएको छ।