काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफू अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको स्पष्ट गरेकी छन्। भारतीय टेलिभिजन च्यानल न्युज १८ लाई दिएको अन्तर्वार्तामा कार्कीले आन्दोलनकारी जेनजी समूहको आग्रहलाई स्वीकार गर्दै चुनावी प्रयोजनका लागि छोटो अवधिको नेतृत्व लिन तयार रहेको बताइन्।
कार्कीले भनिन्, “उनीहरूले मलाई चुनावी प्रयोजनका लागि छोटो समय सरकारको नेतृत्व गर्न भनेका छन्। मैले यसलाई स्वीकार गरेकी छु।”
आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली प्रहारमा ज्यान गुमाएकाका परिवारलाई तत्काल राहत उपलब्ध गराउने, शान्ति कायम गर्ने र छिट्टै निर्वाचन गराउने आफ्नो प्राथमिकता हुने उनको भनाइ छ। “मेरो तत्कालीन नेतृत्व आन्दोलनमा मारिएका जेनजीको परिवारलाई राहत दिने हुनेछ। अहिले उहाँहरूको प्रमुख माग अर्थात् प्रधानमन्त्रीको राजीनामाको माग पूरा भइसकेको छ। सरकार बनेपछि अरू धेरै कुरा पूरा गर्न सकिन्छ,” उनले भनिन्।
उनले राजनीतिक परिवर्तनको चाबी शान्ति र निष्पक्ष चुनावमा रहेको उल्लेख गर्दै, पैसाको प्रभावले नेतृत्वमा कोही नआओस् भन्ने प्राथमिकतामा जोड दिइन्। “पहिलो त शान्तिको आवश्यकता नै हो। म भन्दिनँ कि ठुलो आर्थिक सुधार ल्याउँछु। मैले समयमा निर्वाचन गरेर अर्को नेतृत्वलाई सत्ता हस्तान्तरण गर्ने हो। पैसा बाँडेर कोही नेतृत्वमा नआओस्, हाम्रो यही प्राथमिकता हो,” कार्कीको भनाइ थियो।
अन्तर्वार्तामा उनले चुनाव गराउन कम्तीमा ६ महिना देखि १ वर्षसम्म समय लाग्ने बताइन्। “चुनाव गर्न त समय लाग्छ। ६ महिना लाग्ला, १ वर्ष लाग्ला। तर छोटो समयमा चुनाव गरेर हस्तान्तरण गर्छौँ। म कार्यकारी व्यक्ति होइन, म जज हुँ। मलाई राजनीतिमा रहेर केही गर्नु छैन,” उनले थपिन्।
राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी कार्कीले सन् १९७५ मा भारतको वाराणसीस्थित हिन्दु विश्वविद्यालयबाट अध्ययन पूरा गरेकी थिइन्। उनले भारतीय समाजसँग आत्मीय सम्बन्ध रहेको बताउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत नेताबाट आफू प्रभावित भएको समेत खुलाइन्।