विजयनगर गाउँपालिकामा तोडफोड र आगजनी गर्ने १६ जना पक्राउ


कपिलवस्तु । विजयनगर गाउँपालिकामा तोडफोड र आगजनी गर्ने क्रममा संलग्न १६ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधवार दिउँसो गाउँपालिका कार्यालय परिसरमा अध्यक्ष गोपालबहादुर थापाको कुर्सी र केही कागजात बाहिर ल्याएर जलाउने क्रममा इलाका प्रहरी कार्यालय गणेशपुरबाट पुगेको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकामध्ये विजयनगर गाउँपालिका–७ का २१ वर्षीय विक्कु चौधरी, २८ वर्षीय विवेक चौधरी, ६० वर्षीय राजेन्द्र यादव, २१ वर्षीय लबुकस पाल र १८ वर्षीय महेन्द्र गिरी रहेका छन्। त्यसै गरी लालपुर क्षेत्रका २२ वर्षीय मुखलेस चौधरी, १६ वर्षीय मोनु पासी, २१ वर्षीय सुरेश कुर्मी, १९ वर्षीय जितेन्द्र चौधरी, २८ वर्षीय अभिषेक कुर्मी, २८ वर्षीय गोविन्द चौधरी र ३५ वर्षीय लाला चौधरी समेत पक्राउ परेका छन्।

धनधराका २७ वर्षीय प्रवेश चौधरी, जुगुनियाका २९ वर्षीय दिलीपकुमार चौधरी, ठकुरापुरका २६ वर्षीय दीपेन्द्रकुमार कुर्मी र कृष्णनगर नगरपालिका–मोतीपुरका २६ वर्षीय वीरेन्द्र यादवलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दका अनुसार पक्राउ परेकालाई तत्कालै थुनामा राखी अनुसन्धान अघि बढाइएको छ। उनले भने, “कार्यालयको सम्पत्ति जलाउने कार्य कानुन विपरीत भएकाले कानुनी प्रक्रिया अनुसार कडा कारबाही हुने छ।”

प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले समेत पक्राउ परेका १६ जनामाथि दफा अनुसार कारबाही अगाडि बढाइने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्