पुननिर्माण अभियानमा जुट्न बिमल लिम्बुको आग्रह : व्यक्तिगत एक लाख सहयोग गर्ने प्रतिबद्धता


बेलबारी, मोरङ । देशभरि भएका आन्दोलन, आगजनी, तोडफोड र लुटपाटपछि अब नागरिकहरूले सही नेतृत्व पाउने आशा राखेका छन्। यस्तै संवेदनशील परिस्थितिमा, बेलबारी निवासी सामाजिक कार्यकर्ता विमल लिम्बुले आफ्नो नगरपालिकाभित्र भत्किएका र जलेका सामाजिक संरचनाहरूको पुननिर्माणमा सक्रिय पहल थालेका छन्।

सामाजिक सञ्जालमार्फत विमलले आफ्नो अपिल सार्वजनिक गर्दै लेखेका छन्, “हिजो सम्म जेजे भयो सकियो। जति आगजनी, तोडफोड, लुटपाट, काटमार भयो, भयो। अब देशले सही नेतृत्व पाओस् भन्ने प्रार्थना गर्छु। तर अब देश पुननिर्माणमा जुट्नु पर्छ, ढिलो गर्नु हुँदैन। देश रोएको यो घडीमा म हाँस्न सक्दिन।”

उनले पुननिर्माण कार्य अघि बढाउन कोष खडा गर्ने योजना सार्वजनिक गर्दै आफ्नो व्यक्तिगत तर्फबाट रु. १ लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, सबै नागरिकलाई पनि सक्दो सहयोग गरेर पुननिर्माण कार्यमा सहभागी हुन अनुरोध गरेका छन्।

विमलका अनुसार, “यो कार्यका लागि नेतृत्व कसैले लिए पनि हुन्छ, तर अब सबै मिलेर प्रभावित क्षेत्रको पुनर्निर्माणमा जुट्नु अत्यावश्यक छ।”

स्थानीयवासीले पनि विमलको पहललाई स्वागत गर्दै सामूहिक रूपमा निर्माण कार्यमा हातेमालो गर्ने तयारी गरेका छन्। यसरी नागरिक सहभागितामा आधारित पुननिर्माण प्रयासले प्रभावित क्षेत्रमा आशा र सहकार्यको भावना फैलाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्