प्रधानसेनापति सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने : सेनाले युवालाई संयमित रहन अपिल

नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा भएको क्षति प्रति दुःख व्यक्त गर्दै राष्ट्रिय एकता र जनधनको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ


काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दै हालको परिस्थितिबारे जानकारी दिने भएका छन्। यसअघि नेपाली सेनाले देशको परिस्थिति थप जटिल नबनाउन विशेष अनुरोध गर्दै सामाजिक सद्भाव, राष्ट्रिय एकता र संयम कायम राख्न सबै नागरिकलाई आग्रह गरेको थियो।

नेपाली सेनाले जारी गरेको वक्तव्यमा उल्लेख छ, “विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको दायित्व हो। विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन युवा जनशक्ति र देशवासीमा संयमित रहन अनुरोध गर्दछौँ।”

सेनाले नेपालमा जारी जेनजी आन्दोलनका विकसित घटनाक्रमहरूको विश्लेषण गरिरहेको पनि जनाएको छ। “यस आन्दोलनको क्रममा हुन पुगेको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ। साथै घाइते बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछौँ,” सेनाले भनेको छ।

नेपाली सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउधनको सुरक्षामा विषम परिस्थितिमा पनि प्रतिबद्ध रहेको उल्लेख गर्दै युवाहरूलाई संयमित रहन विशेष आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्