आलोक खनाल – २५ जेठ । सामान्यतया मानव जाति एक विवेकशील र चेतनशील प्राणी हो । यी दुवै शब्दहरूको अर्थ मानिसलाई अति सुन्दर बनाउन प्रयोग गरिएको छ । तर मानिस यति नै सुन्दर छ त ? के मानिसले म यति नै सुन्दर छु भनेर कहिले पनि सोचेको छ ? यदि सोचेको भए पनि मानिस जति सुन्दर छ उति नै कुरूप र विवेकहीन पनि छ भन्ने विषयमा एकफेर नसोची मानिसले बस्नु हुँदैन र बसेको छैन ।
सुन्दर मानिसको कल्पनाको विरुद्धमा आउँछ , अपराध । अपराधको अर्थ गर्ने क्रममा कानुनी शब्द नै प्रयोग गर्दा कानुनले जे गर्नु भनेको छ त्यो नगर्नु र कानुनले जे नगर्नु भनेको छ त्यो गर्नुलाई अपराध भनिन्छ । यसलाई हेर्दा कानुनले मानिसलाई तिमी यो गर वा तिमी यो नगर भनेको छ । यदि मानिस अघि भनेजस्तै सुन्दर हुने हो भने अपराध शब्दको प्रादुर्भाव नै सायद हुँदैन थियो होला ।
यस पटक मानिस यसरी बन्दाबन्दीमा परेको छ सायद इतिहासमै यो एक नौलो विपद् हो । यस रोगको उपचार विधि पत्ता नलागिसकेको अवस्थामा मानवीय हितको एउटै मात्र विधि छ त्यो हो लकडाउनमा बस्नू , सामाजिक दुरी कायम राख्नू , अझ भन्दा मानिस ले मानिस बाट टाढा रहनू नै उत्तम विकल्प साबित भएको छ । यस परिस्थितिमा हामीले बाँच्नका लागि पहिले कमाएको जमाएको जे जस्तो छ त्यो उपयोगमा ल्यायौँ , ल्याइरहेका छौँ । तर भोलिका दिनमा कमाउने र खाने आधार के हुनसक्छ अन्योलको विषय बनेको छ । मुलुकमा जे जस्तो भएका आर्थिक गतिविधिहरू यति वेला ठप्प छन् । चलेका सानातिना व्यापार हरू नगन्या मात्र छन् । यसले भोलिको समय बारे छुट्टै बहसको विषय बनाएको छ । भोलिको आर्थिक , सामाजिक , राजनैतिक , धार्मिक लगायतका विषय पनि भोलिका लागि बहसकै विषय हुन् ।
बिधिशास्त्रको अध्ययन गर्ने क्रममा थुप्रै अपराधका कारणहरूको विवेचना गरिएको छ । मुख्यतया आर्थिक , सामाजिक , राजनैतिक , मनोवैज्ञानिक कारणहरू नै प्रमुख हुन् । बन्दाबन्दीको असर र प्रभावका आधारमा यी कारणहरूमा आउने परिवर्तनका कारण अपराधको वृद्धिदरमा समेत परिवर्तन आउँछ । सामान्यतया मानवजातिले अब सचेत हुनुपर्ने विषय भनेको बन्दाबन्दी पछि आउने परिवर्तन प्रति हो । समाजको गतिरोध , समाजको माग र बन्दाबन्दी अघिको जीवनशैलीले अपराधको दर र स्वरूप निर्धारण गर्न सक्छन् ।
अपराधको जैविकिय व्याख्या गर्ने सिलसिलामा मानसिक दुर्बलता अपराधी हुनुको कारण हुने विषयमा अध्ययन भैसकेको छ भने अपराध हुने अवस्था आर्थिक कारणले समेत आउँछ भन्ने पनि अध्ययन भएकै विषय हो । बन्दाबन्दी पछि सामान्यतया रोजगारीको दर न्यून हुन्छ । यसको कारण मानिसका इच्छाहरू स्वतः खुम्चन जान्छन् । अर्कातर्फ मानिसको पकृति आफ्ना आवश्यकता तथा इच्छाहरू प्रति शुन्यभाव रहने हुँदैन , सबै मानिसले यस्तो अवस्थामा एकै प्रकृतिको व्यवहार गर्छन् भन्ने पनि हुँदैन । मानिस यस पस्चात दुई ध्रुवमा बाँडिन्छ । एक प्रकारका मानिसहरू सृजनशील बन्छन् र भविष्यका लागि केही योगदान गर्छन् । अर्काथरी मानिसहरूमा यस्तो भाव आउँछ , ती अपराधी बन्न पुग्छन् ।
बन्दाबन्दीले मानिसलाई हिजोको दिनमा भन्दा बढी सञ्चयकर्ता , एकलौटीपन र स्वार्थ केन्द्रित बनाउने निश्चित छ । यसले गरिबहरू चोरी गर्न, ठगी गर्न बाध्य हुन्छन् भने धनीहरू स्वेतग्रीवि अपराध तर्फ अघि बढ्छन् । नेपालजस्तो मुलुकमा त झन् अपराधको राजनीतिकरण र राजनीतिलाई आपराधिकरण गरी धनीका अपराधहरू कार्लमाक्सले भनेझैँ लुक्न सक्छन् । यस विषयमा समयमै राज्य संयन्त्रले सोच्नुपर्ने हुन्छ । व्यक्तिगत स्वार्थ र सञ्चयकर्ता एकातर्फ मौलाउन सक्छ भने अर्कातर्फ अपराधको गति बढ्न सक्छ ।
यस लेखको उद्देश्य कानुन विशेषज्ञहरूलाई ठुलो मदत गर्नु होइन तसर्थ सामान्य नागरिकले यो अनुमान गर्न सकिन्छ कि मानिसले जीवनशैली एक किसिमले चलाइरहेको थियो त्यसलाई कोरोना महामारीले संकुचन तर्फ लगेकै छ । तर आवश्यकतालाई संकुचीत बनाउन सकेको छैन । हिजोको परिवार सँगै छ आय श्रोतमा गिरावट आएको छ । यसको सिर्जनात्मक रूपले पारिवारिक हितमा प्रयोग गर्नु भोलिको आवश्यकता हुन्छ । बढ्दो आश्रित परिवारको सङ्ख्या व्यवस्थापनको उचित अभावमा पनि अपराधहरू बढ्न सक्छन् । आत्महत्या जस्तो गम्भीर किसिमको अपराधले यहाँ राम्रै ठाउँ पाउन सक्छ ।
मुलुकी अपराध संहिता २०७४ को भाग (२) अन्तर्गत दिइएका फौजदारी किसिमका कसुर यानकी अपराधको चर्चा गर्दै गर्दा यिनको कारणहरू तर्फ समेत लाई ध्यानमा राख्यो भने कोरोना कहर पछि कस्ता अपराध बढ्न जान्छन् भन्ने स्पष्ट हुन आउँछ । कोरोना पछि कस्ता अपराध बढ्छन् भनी सोधिएको प्रश्नमा अधिवक्ता नीराजन ओझा भन्छन् चोरी र लुटपाट सँग हामी ज्यादै सचेत हुनुपर्छ मानिसहरूका आधारभूत आवश्यकता समेत आफ्नो आम्दानीले पुरा गर्न नसक्ने भएपछि चोरी लुटपाट ठगी बढ्न जान्छन् । यसका अलावा अन्य थुप्रै अपराधहरू छन् जसको कारण सिधा रूपमा काम र कमाइसँग जोडिन्छ ।
डाँका गर्ने को सङ्ख्यामा पनि तीव्र रूपमा बढोत्तरी हुन जान्छ । गरिबहरूले सामान्यतया चोरी ठगी गर्छन् । धनीहरूले डाँका र लुटपाटमा गरिबहरूको समेत प्रयोग गर्छन् । यस्ता अपराधहरूमा लागी राज्यसत्ता को दुरुपयोग गर्ने समय पनि यही हुनसक्छ । किनकि नागरिक समाज र नागरिकहरू यस वेला आफ्नै विपद् समाल्न बाध्य हुने भएकाले राजनीति तथा सरकारको आडमा बसेर अपराध गर्न सहज हुने अवस्था आउने गर्छ । यसैको प्रयोग गरी अपराध बढ्न जान्छ ।
अत्यन्तै सामान्य तरिकाले असामान्य किसिमका फौजदारी कसुर गर्नेको सङ्ख्या बढ्न सक्ने सम्भावना उत्तिकै छ । सामान्य घर झगडाको कारण बनेर घरेलु हिंसा , यौन हिंसा , कुटपिट , हत्या , आत्महत्या र बलात्कार समेत हुन जान्छ । यसलाई असर पार्ने कुराहरूमा फेरी पनि अभावका दिनहरूले मानिसमा डिप्रेसन ल्याउन जान्छ र यसैका कारण मानिसहरू अपराध तर्फ अघि बढ्न सक्छन् । यस्तो समय घर परिवार समाज र राज्यले नै नागरिकका आत्मबल बढ्ने किसिमका कार्यक्रमहरू ल्याउनु पर्ने हुन्छ । गाँस बास र कपासकै अभावमा गम्भीर प्रकृतिका अपराधहरू नबढुन् भनी समयमै सचेत हुनु आवश्यक छ ।
महिला हिंसा , यौन हिंसा र बलात्कार सँगसँगै आउने विषय हुन् । यसको कारण भनेको पुरुषहरू अति फुर्सदिला हुनु र आर्थिक अवस्था कमजोर बन्दै जानु मूल रूपमा अघि आउँछ । फुर्सदिला पुरुषहरू बढी यौनासक्त हुने र बलात्कार गर्ने सम्भावना पनि उसैगरी बढ्न जान्छ । यसको उपचारका लागि राज्यले ससाना कामहरूमा पुरुषहरूलाई व्यस्त बनाइरहनु आवश्यक पर्छ । अनावश्यक दबाबमा गर्भपतनका अपराधहरू बढ्न सक्छन् । अनैच्छिक रूपमा गर्भधारण गर्नुपर्ने समस्या त छदैछ यसका अलावा नारीहरू गर्भपतनका लागि पारिवारिक अवस्था बाटै बाध्य हुन जान्छन् । अहिले भएको बलात्कारको दर अवश्य बढ्न जान्छ ।
मानिस आफैँमा शान्त भएर बाँच्ने आधारको अभावमा आफूमा भएको अशान्ति कहीँ न कहीँ बिसाउन चाहन्छ । कहिलेकहीँ यस्तो अवस्थाले सार्वजनिक शान्ति खलल पार्ने किसिमका अपराधहरू हुन जान्छन् । मुलुकी अपराध संहिता २०७४ दफा ६० को उपदफा (४) बमोजिमका अपराधहरूमा बढोत्तरी आउन सक्छ । त्यस उपदफामा भनिएको छ कुनै व्यक्तिलाई कानुनले गर्न नहुने काम गर्न लगाउने वा कानुनले गर्न पाउने काम गर्न नदिने कामका लागि बलको प्रयोग गर्ने सम्मका अपराधहरू हुन पुग्छन् । आफू गरिबिको चपेटामा परेपछि आधारभूत आवश्यकता पुरा गर्न तथा गराउनकै लागि मानिस बेच्न तथा बेचिन सक्छ ।
दैनिक गुजाराका लागि वेश्यावृत्ति गर्ने गराउने किसिमका अपराधहरू बढ्न जान्छन् । ब्यबसायिक रूपमै वेश्यावृत्ति बढ्नु वा नेपाली नारीहरू मानव बेचबिखनका क्रममा आफैँ बेचिन बाध्य हुनु जस्तो गम्भीर किसिमका अपराधहरू समेत नबढ्लान् भन्न सकिँदैन । यस्ता अपराधहरू मानिसको आर्थिक अभाव पुरा गरिदिने, रोजगारीमा लगाई दिने, भावनात्मक कमजोरीको फाइदा उठाउने जस्ता कुराहरूको आडमा लागि अपराधीहरू सक्रिय बन्ने पृष्ठभूमि तयार हुनसक्ने आधार यो बन्दाबन्दीले निम्त्याएको छ भने यस किसिमका अपराधमा आफन्तहरूले आफन्तहरूलाई नै पीडित बनाउन सक्छन् । विश्वासघातमा पारी बलजफत गरी परिवारले नै अपराधमा संलग्न गराउन पनि सक्छन् । यस परिस्थितिमा आफ्नै परिवार समेत अपराधी नबनोस् भन्ने मेरो प्रार्थना हो ।
अन्तमा अपराध मानिसले जन्मजात गर्ने होइन आपराधिक मानसिकता विकास हुन लाग्ने लामो समय मध्ये यस किसिमको बन्द र बन्दापछि भोग्नुपर्ने अभाव र उक्त अभावको सामना गर्न नसक्नु पनि एक हो । आर्थिक अभावका कारण उत्पन्न मनोरोगका कारण यस्ता अपराधहरू बढ्न सक्छन् कि हामीले आङ्कलन गरेको भन्दा अर्कै स्वरूप पनि लिन सक्छ । अपराधका पुराना तौरतरिकाहरू परिवर्तन भई रचनात्मक अपराधको विकास समेत हुनसक्ने सम्भावना हुन्छ । यस्ता अपराधको सम्बन्धित निकायले समयमै पूर्वानुमान गरी योजनाबद्ध किसिमले त्यसको समाधान गर्ने तर्फ समयमै ध्यान दिनु आवश्यक देखिन्छ ।