बर्दियामा १० वर्षीया बालिका एञ्जलको हत्या : सुनका मुन्द्रा र चाँदीको सिक्रीका लोभमा अपराध


बर्दिया । सुन र चाँदीका गहनाको लोभले १० वर्षीया बालिका भारती ‘एञ्जल’ देउवाको हत्या भएको खुलासा भएको छ । प्रहरीले बर्दियाको गेरुवा गाउँपालिका–५ झबहीकी बालिकाको हत्या आरोपमा सोही वडाका २१ वर्षीय समीर सुनारलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियामा बुधवार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख एसपी सरोज पौडेलले अभियुक्त समीरले ‘धन’को लोभमा बालिकाको हत्या गरेको स्वीकार गरेको जानकारी दिएका हुन् । प्रहरीका अनुसार आफन्तको विवाह घरबाट नयाँ कपडा लगाएर मामा घर जान निस्किएकी एञ्जलले कानमा एक/एक आना सुनका मुन्द्रा र घाँटीमा दुई तोलाको चाँदीको सिक्री लगाएकी थिइन् । खोलामा माछा मारिरहेका समीरले उनलाई देखेपछि सुन लुट्ने उद्देश्यले पछ्याएका थिए ।

सुन निकाल्न धम्क्याउँदा एञ्जलले विरोध गर्दै प्रहरीलाई खबर गर्ने चेतावनी दिएकी थिइन् । त्यसपछि समीरले बालिकाको मुख थुनेर घाँटी अँठ्याउँदै हत्या गरेको अनुसन्धानबाट खुलेको छ । हत्यापछि उनले एञ्जलको साइकल खोलामा र चप्पल झाडीमा फालेर शव गुडिखोला किनारमा गाडिदिएका थिए ।

घटनापछि समीरले लुटेका दुई आना सुन र दुई तोलाको चाँदी बर्दियाका विभिन्न सुन पसलमा बिक्री गर्न प्रयास गरेका थिए । तर, पसलेहरूले बिल मागेपछि उनले गहना बेच्न नसकी फर्किएको प्रहरीले जनाएको छ । एसपी पौडेलका अनुसार समीरले गहना बेचेर भारत भाग्ने योजना बनाएका थिए । तर, भाडा र मोबाइल रिचार्ज गर्ने पैसा समेत नभएकाले सासूलाई रिचार्जका लागि एक सय रुपैयाँ मागेको तथ्य पनि खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्