इटहरीमा गुडिरहेको टाटा भिस्टा कारमा आगलागी : चार जना सकुशल बाहिर निस्किए


इटहरी । सुनसरीको इटहरीमा गुडिरहेको टाटा भिस्टा कारमा आगलागी भएको छ । सोमबार बिहान करिब १० बजे वडा नं. ६ स्थित वाइट फेदर लुगा पसलअगाडि,  इटहरी उपमहानगरपालिकाको कार्यालय नजिकै पश्चिमतर्फ बा.११ च २५९८ नम्बरको कारमा अचानक आगलागी भएको हो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार टाटा कम्पनीको भिस्टा कारमा आगलागी भएको हो । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वाइट फेदर लुगा पसलका सञ्चालक प्रकाश पाठकका अनुसार कार गुडिरहेको अवस्थामा अचानक आगलागी भएको थियो । कारमा सवार चार जना सकुशल बाहिर निस्कन सफल भएको पाठकले जानकारी दिए ।

आगलागीपछि केही समय सडकमा आवतजावत प्रभावित भएको थियो । घटनास्थल आसपासका पसल सञ्चालक तथा सर्वसाधारणसमेत आगो अन्यत्र फैलिन सक्ने आशंकाले त्रसित बनेका थिए ।

आगलागीको कारण, कारमा भएको क्षतिको विवरण तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्