बेलबारी २ बाट १८.२४० ग्राम लागुऔषध र डिजिटल तराजुसहित एक जना पक्राउ


बेलबारी । मोरङको बेलबारी नगरपालिका-२ लालभित्तीस्थित कबिर टोलबाट प्रहरीले लागुऔषध ब्राउन सुगर र डिजिटल तराजुसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय ३० वर्षीय भोजबहादुर राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनको घरमा खानतलासी गर्दा १८ ग्राम २४० मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु र पाँच हजार रुपैयाँ नगद बरामद गरिएको हो ।

आइतबार राति करिब ९ः५० बजे राईको घरको कोठामा लागुऔषध लुकाइछिपाई राखिएको भन्ने गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक राजीव गिरीको नेतृत्वमा प्रहरी टोली खटिएको थियो । बरामद पदार्थ र नगदसहित राईलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्