विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका-४, शनिश्चरे बजारस्थित एक घरबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ र औषधिजन्य क्याप्सुलसहित प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंसिर ५ गते दिउँसो करिब ४ः२० बजे गोप्य सूचनाका आधारमा प्रहरी चौकी कुशेचौरीबाट खटिएको टोलीले स्थानीय २४ वर्षीय कैलाश तामाङको घरमा खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा घरको कोठामा लुकाइछिपाइ राखिएको अवस्थामा ४ ग्राम ९४० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ, नेपाली नगद १२ हजार ९२५ रुपैयाँ र एनआईटीजेडएएससीईएनटी-१० लेखिएको १३ पत्तामा रहेका १२८ क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त सामग्री बरामद गरेपछि कैलाश तामाङ र उनकी २३ वर्षीया श्रीमती अनिसा तामाङलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिएका छन् ।


