काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व तत्काल नछाड्ने स्पष्ट संकेत दिएका छन् । हालैको जेन–जी आन्दोलनपछि पार्टीभित्र नेतृत्व हस्तान्तरणको बहस तीव्र भइरहेका बेला उनले जिल्ला अध्यक्षहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै आफूसँग अडान, विचार र दृष्टिकोण राख्ने क्षमता रहुन्जेल नेतृत्व नछोड्ने घोषणा गरेका हुन् ।
भक्तपुरको गुन्डुस्थित निवासमा बसेर ओलीले पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट जारी राखेका छन् भने भर्चुअल माध्यममार्फत पनि सक्रिय रहेका छन् । सम्बोधनमा उनले आफू, पार्टी र देशविरुद्ध गहिरो षड्यन्त्र भएको दाबी गर्दै भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलन त्यही योजनाको परिणाम भएको उल्लेख गरे ।
“पार्टीको शिर निहुरन कहिल्यै दिन्नँ,” उनले जोड दिँदै भने, “सक्रियताले, इमानले, विचारले कुनै हिसाबले झुक्न दिन्नँ । जबसम्म सक्छु, तबसम्म जिम्मेवारीमा रहन्छु; सक्न छाडेपछि मात्रै छोड्छु ।”