विराटचोक । जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनपछि सुन्दरहरैँचा फुड फेस्टिभल-२०८३ स्थगित गरिएको छ । महोत्सव आयोजक सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै प्रशासनको निर्देशनलाई सम्मान गरी अर्को निर्णय नभएसम्मका लागि महोत्सव स्थगित गरिएको जनाएको हो ।
सङ्घका अध्यक्ष नारायण कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा महोत्सवअन्तर्गतका सांस्कृतिक कार्यक्रम पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन गर्न कठिनाइ भएको उल्लेख छ । चाडपर्वको व्यस्तता, कलाकारहरूको समय व्यवस्थापन तथा हवाई उडान निर्धारित समयभन्दा ढिलो भएका कारण कार्यक्रम सञ्चालनमा ढिलाइ भएको आयोजकको भनाइ छ ।
कार्यक्रम सञ्चालनमा भएको ढिलाइ र ध्वनिका कारण स्थानीय छिमेकी, सर्वसाधारण दर्शक, व्यवसायी, कलाकार, प्रायोजक, सहकार्य गर्ने सङ्घसंस्था तथा व्यावसायिक स्टल सञ्चालकलाई परेको असुविधाप्रति आयोजकले क्षमायाचना गरेको छ । यसअघि जिल्ला प्रशासन कार्यालय, मोरङले आजै विहान जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गर्दै फेस्टिभल तत्काल बन्द गर्न निर्देशन दिएको थियो । प्रशासनले अनुमति दिँदा तोकिएका सर्त उल्लङ्घन भएको र स्थानीयवासीबाट सार्वजनिक शान्ति तथा सुव्यवस्थामा खलल पुगेको भन्दै पटक-पटक गुनासो आएको पत्रमा उल्लेख गरेको थियो ।
प्रशासनले कार्यक्रम राति ९ बजेसम्म बन्द गर्नुपर्ने, मादक पदार्थ सेवन गरी कार्यक्रमस्थल प्रवेश गर्न नदिने, आवासीय क्षेत्रमा ध्वनि प्रदूषण गर्न नपाइने तथा उच्छृङ्खल, अश्लील वा भड्किलो प्रस्तुति गर्न नपाइनेलगायतका सर्त उल्लङ्घन भएको जनाएको थियो ।
सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घको आयोजनामा सुन्दरहरैँचा-१०, विराटचोकस्थित औद्योगिक प्रदर्शनी केन्द्रमा असोज २५ गते फेस्टिभल सुरु भएको थियो । कात्तिक १० गतेसम्म सञ्चालन गर्ने लक्ष्यसहित आयोजना गरिएको फेस्टिभलको उद्घाटन नगरप्रमुख केदारप्रसाद गुरागाईँले गरेका थिए ।



