बेलबारी । मोरङको बेलबारीस्थित इलाका प्रहरी कार्यालयमा हिरासतमा रहेका व्यक्तिहरूलाई अध्ययनको अवसर प्रदान गर्ने उद्देश्यले प्रहरी हिरासत पुस्तकालय स्थापना गरिएको छ । बेलबारी साहित्य विकास समितिको आयोजनामा स्थापना गरिएको पुस्तकालयको बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले औपचारिक उद्घाटन गरेका हुन् ।

बिहीबार इलाका प्रहरी कार्यालय बेलबारी-१ मा आयोजित कार्यक्रममा नगरप्रमुख राईले हिरासतमा रहेका व्यक्तिहरूले पनि पुस्तक अध्ययनमार्फत आफ्नो सोच, व्यवहार र जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्ने बताए । हिरासत पुस्तकालय स्थापना सामान्य कार्यक्रम मात्र नभई मानवीय रूपान्तरणका दृष्टिले महत्त्वपूर्ण पहल भएको उल्लेख गर्दै उनले आयोजक संस्थालाई धन्यवाद र प्रहरी कार्यालयलाई बधाई दिए ।
राईले आँखाको नानी शरीरको सानो अङ्ग भए पनि त्यसको महत्त्व अत्यन्त ठुलो हुने उदाहरण दिँदै हिरासत पुस्तकालयको भूमिकालाई पनि त्यसैसँग तुलना गरे । पुस्तक अध्ययनले मानिसलाई नयाँ दृष्टिकोण प्रदान गर्न र समाजमा सकारात्मक योगदान गर्ने व्यक्तिका रूपमा अघि बढ्न प्रेरित गर्न सक्ने उनको भनाइ थियो ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक राजीव गिरीले साहित्यकार अग्रज साहित्यकार तथा शिक्षक इरान राईको विशेष पहल, बेलबारी साहित्य विकास समितिको सहयोग तथा स्थानीय स्रष्टाहरूको योगदानबाट पुस्तकालय स्थापना गर्न सम्भव भएको बताए । कार्यालयमा संरचनागत तथा प्राविधिक सुधार गर्नुपर्ने र स्रोतसाधनको अभावसमेत रहेको अवस्थामा पुस्तकालय स्थापनाले थप सहयोग पुगेको उनले उल्लेख गरे । आफ्नो कार्यकालमा स्थानीय समुदायबाट प्रहरीको कामकारबाहीमा सहयोग प्राप्त भएको बताउँदै गिरीले समुदायसँगको सहकार्यले सेवा प्रवाहलाई सहज बनाएको धारणा राखे ।

कार्यक्रममा अग्रज साहित्यकार तथा शिक्षक इरान राईले हिरासतमा रहेका व्यक्तिहरूलाई सकारात्मक सोच र भावनातर्फ उन्मुख गराउन पुस्तकालयले सहयोग गर्ने विश्वास व्यक्त गरे । विगतमा कारागारमा रहँदा पुस्तक अध्ययन गरेका व्यक्तिहरू पछि देशको नेतृत्व तहसम्म पुगेका उदाहरण प्रस्तुत गर्दै उनले अध्ययनले मानिसको सोच र जीवनको दिशा बदल्न सक्ने बताए ।
बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाले हिरासतमा रहेका व्यक्तिहरूले आफ्नो समय सदुपयोग गरी अध्ययन गर्ने वातावरण निर्माण गर्नु पुस्तकालय स्थापनाको मुख्य उद्देश्य रहेको बताए । पुस्तकालयले हिरासतमा रहेका व्यक्तिहरूका साथै प्रहरी कर्मचारीलाई समेत फुर्सदको समय अध्ययनमा उपयोग गर्न प्रेरित गर्ने अपेक्षा गरिएको उनले बताए ।

कार्यक्रममा विभिन्न पुस्तकहरू इलाका प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको थियो । पुस्तकालय स्थापनाका लागि साहित्यिक संस्था र स्थानीय स्रष्टाहरूले पुस्तक उपलब्ध गराएर सहयोग गरेका थिए । कार्यक्रममा संविधानसभा सदस्य मधु गुरुङ, अग्रज साहित्यकार, स्थानीय प्रतिनिधि तथा पुस्तकदातालगायतको उपस्थिति रहेको थियो ।
बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिका उपाध्यक्ष गोविन्द लिम्बूले स्वागत मन्तव्य राखेका थिए भने शिव पराजुलीले कार्यक्रम सञ्चालन गरेका थिए । पुस्तकालयको स्थापना हिरासतमा रहेका व्यक्तिहरूलाई अध्ययनको अवसर उपलब्ध गराउने, समयको सदुपयोग गराउने तथा उनीहरूमा सकारात्मक सोच र व्यवहार विकास गर्न सहयोग पुर्याउने उद्देश्यसँग जोडिएको छ ।




