लालभित्ती भेट्रान फुटबल कपको आयव्यय सार्वजनिक : १ लाख ८८ हजार बचत


बेलबारी । मोरङको बेलबारी-२ मा आयोजित प्रथम लालभित्ती भेट्रान फुटबल कप २०८३ को आयव्यय विवरण सार्वजनिक गरिएको छ । लालभित्ती भेट्रान फुटबल क्लबले शनिवार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको आर्थिक विवरण सार्वजनिक गरेको हो ।

आर्थिक संयोजक खगेन्द्रप्रसाद ओझाका अनुसार प्रतियोगिताबाट कुल ९ लाख ६ हजार ५ सय ८५ रुपैयाँ आम्दानी भएको छ । उक्त रकमबाट खर्च कटाउँदा १ लाख ८८ हजार ५ सय ५५ रुपैयाँ खुद बचत भएको उनले जानकारी दिए ।

सार्वजनिक विवरणअनुसार प्रतियोगिताको कुल खर्च ७ लाख १८ हजार ३० रुपैयाँ रहेको छ । क्लबको आयोजनामा असोज १ देखि १० गतेसम्म बेलबारी-२ स्थित बागदेवी खेलमैदानमा प्रतियोगिता सञ्चालन भएको थियो ।

प्रतियोगिताको उपाधि झापाको डुडामारी भेट्रान फुटबल क्लबले जितेको थियो । फाइनलमा डुडामारीले दमक भेट्रान झापालाई ४-० गोल अन्तरले पराजित गरेको थियो ।

आयव्यय सार्वजनिक कार्यक्रममा क्लबका अध्यक्ष भीम राईले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने संघसंस्था, व्यक्ति, खेलप्रेमी तथा सहयोगी सबैप्रति धन्यवाद व्यक्त गरे । क्लबका सचिव श्याम लिम्बूले सञ्चालन गरेको कार्यक्रममा प्रतियोगिता आयोजक समितिका पदाधिकारी तथा सल्लाहकारहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्