काठमाडौं । नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएपछि गगन थापा निर्विरोध हुने चर्चा तीव्र बने पनि अन्तिम अवस्थामा सभापति पदको प्रतिस्पर्धा कायमै रहेको देखिएको छ ।
सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले आफूले उम्मेदवारी फिर्ता नलिएको र फिर्ता पनि नलिने स्पष्ट पारेपछि गगन थापा र खड्गीबीच सभापति पदका लागि प्रतिस्पर्धा हुने अवस्था बनेको हो ।
खड्गीले बुधवार साँझ आफू निर्वाचनबाट पछि नहटेको स्पष्ट पार्दै लोकतान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा सहभागी हुने बताएका छन् । उनले ‘उम्मेदवारी फिर्ता लिएको छैन र लिने पनि छैन’ भन्ने आशयको प्रतिक्रिया दिएका छन् ।
यसअघि सभापति पदमा गगन थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गी गरी तीन जनाको उम्मेदवारी परेको थियो । राठौरले बुधवार उम्मेदवारी फिर्ता लिएर थापालाई समर्थन गर्ने घोषणा गरेपछि सभापति पदमा थापा र खड्गी मात्र बाँकी रहेका थिए ।
राठौरले पार्टी संकटमा रहेकाले एकताबद्ध भएर अघि बढ्नुपर्ने भन्दै थापाको प्रस्तावलाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिएको बताएका छन् । उनको फिर्तापछि थापा निर्विरोध हुने चर्चा र सामाजिक सञ्जालमा बधाई दिने क्रमसमेत बढेको थियो ।
तर, त्यसपछि केही सञ्चारमाध्यममा खड्गीले समेत उम्मेदवारी फिर्ता लिएको भन्दै गगन थापा निर्विरोध भएको समाचार प्रकाशित भए । काँग्रेसको निर्वाचन प्रक्रियाअनुसार सभापति पदमा मतदान बिहीबार हुने तयारी छ । पछिल्लो प्रकाशित विवरणअनुसार मतदान बिहान १० बजेदेखि सुरु हुने जनाइएको छ ।
यसअघि वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसालको एकल उम्मेदवारी परेको छ ।



