तारा पराजुली – मोरङ । मोरङ जिल्ला नेपालको राजनीतिमा निर्णायक भूमिकासहितको जिल्लाका रूपमा चर्चित छ। नेकपा एमाले मोरङको सङ्गठित सदस्यको अङ्कगणितको आकार उतिकै बलियो छ। तैपनि पार्टीमाथि अनेक प्रहार भइरहेका छन्। यस्तो अवस्थामा विखण्डित साङ्गठनिक शैलीका पक्ष विपक्षमा विभाजित हुनु दुःखद विषय हो। र यी गतिविधि आम समर्थक, शुभचिन्तक र कार्यकर्ताका लागि स्वीकार्य हुनेछैनन् ।
नेकपा एमाले विशाल जनप्रिय पार्टी भएकै कारण पार्टीमाथि धाराप्रवाह हमला र आक्रमण भइरहेको समय घर बलियो बनाउन धुरी कस्नुपर्ने बेला हो।पिलर हल्लाएर हुँदाछँदाको घर कमजोर बनाएर छिमेकी हँसाउनु लज्जास्पद कुरा हो। लोकतान्त्रिक पद्धति भए पनि पार्टीभित्र सकेसम्म सर्वसम्मत नेतृत्व चयनले आपसमा वैमनस्य घटाउने काम गर्छ।एउटा विशाल पार्टीभित्र नेतृत्वमा होड चल्नु पार्टी उर्वर र सबल रहेको सङ्केत भए पनि सकेसम्म सर्वसम्मत नेतृत्व चयनले समयको बचत, चुनौती कम र आर्थिक व्ययभार कम हुन्छ भन्ने बुझ्न जरुरी छ।यसका अलावा चुनाव हुँदा विवेकशील कार्यकर्ताले विवेक अवश्य पुर्याउँछन् नै, सहमति गर्दा माथिल्लो नेतृत्वले र चुनाव हुँदा भूगोलका कार्यकर्ताले विवेक पुर्याउँछन्।
सहमति हुँदा गराउँदा नेतृत्वको कौशल र भूमिकाको मूल्याङ्कन पनि आम कार्यकर्ताले लेखाजोखा गर्नेछन्। चुनाव भयो भने पनि कार्यकर्ताले उक्त भावलाई आम प्रतिनिधिले खुलेर प्रतिनिधित्व गर्नेछन्। जिल्ला अधिवेशनका लागि ९ सय १४ जना प्रतिनिधि छानिएका छन् । जसमध्ये १७ वटा स्थानीय तहको १ सय ५९ वडाबाट ६ सय ९२ जना, २३ वटा जनवर्गीय सङ्गठनबाट १ सय १ जना, विशेष क्षेत्रबाट २४ जना, दलित ५१ जना र मनोनीत ४६ गरी ९ सय १४ जना प्रतिनिधि चयन गरिएका प्रतिनिधिहरूले यो समय पार्टीका लागि चुनौतीको समय हो भनेर मनन गर्न सक्नुपर्छ।
चुनौती र हस्तक्षेपलाई पक्षपोषण हुने गरी आन्तरिक विभाजनले न व्यक्तिलाई फाइदा हुन्छ न पार्टीलाई। यो समय पार्टीका लागि चुनौती र आम घेराबन्दीको समय हो। एक अर्थमा भन्नुपर्दा विभिन्न तत्त्वहरूले नयाँ पुराना आवरणमा पार्टीलाई अप्ठ्यारोमा पारिरहेको समय आन्तरिक द्वन्द्व,फुट र बहस अहिलेको आवश्यकता होइन हालको सुदृढ आवश्यकता एकता हो। अधिवेशन एक प्रक्रिया हो, विधि हो,अर्थात् रित पुर्याउने ठाउँ हो।नेतृत्वका लागि कुन व्यक्ति आवश्यक भन्ने कुरा पृष्ठभूमिले निर्धारण गरिसकेको हुन्छ।
व्यक्तिले भिन्नभिन्न कालखण्डमा गरेका गतिविधिले मापन गरिरहेको हुन्छ।हरेक आधारमा कार्यकर्ताका मनमा बसिसकेको व्यक्ति नै नेतृत्वका लागि आवश्यक व्यक्ति हो।यसो भनिरहँदा निरन्तरता र लगनशीलताको प्रश्न उठ्न सक्छ,योगदानको प्रश्न उठ्न सक्छ।समान क्षमता,योग्यता र उत्तिकै योगदान दिनेहरूबिच पनि मध्यस्थताका लागि उत्तम विकल्पहरू खोजेर उदारता देखाउनु बुद्धिमानी हुनेछ।अर्को कुरा यदाकदा आउने अधिवेशनले उभ्याएको नेताभन्दा योगदानले निर्माण गरेको नेता आजको युगको आवश्यकता हो।
पर्चामा देखिने पदाधिकारीदेखि आम सदस्यका र सबै विभागका उम्मेदवारहरू पार्टीलाई लामो समय योगदान दिएका पार्टीको हितमा काम गर्ने, निष्ठावान् अनुहारहरू,जसले हिम्मतका साथ अब्बल नेतृत्व गर्ने प्रणसहित मैदानमा हुने सम्पूर्णको साहसलाई सम्मान सम्मान गर्नै पर्छ। अन्तमा, पार्टीको व्यवस्थित प्रणालीलाई स्थापित गर्न पद र ओहदाका लागि पार्टी सङ्गठन होइन राजनीति,पार्टी र सङ्गठनका लागि पद र ओहदा भन्ने विचारलाई सम्मान गरौँ,धैर्य गरौँ, आलोपालो भन्ने शब्दको सारलाई आत्मसात् गरौँ,सकेसम्म पार्टीभित्रको दोहोरो भूमिकाको पुनरावृत्तिबाट तटस्थ रहौँ,नेकपा एमाले पार्टीबाट निर्वाचित सबै तहका जनप्रतिनिधिहरूलाई जनताको काम गर्न र अझ जिम्मेवार बनाउन आफ्नो निर्धारित कार्यकालभरि पार्टी कामभन्दा पनि कानुनले निर्देश गरेका जनप्रिय काम गर्ने वातावरण निर्माण गरौँ,ताकि जनप्रतिनिधि भन्ने शब्दावली आफैँ गहन भूमिका बोकेको शब्द हो।
उनीहरूलाई अतिरिक्त पार्टीका गतिविधिमा अलमल नगरी परिणाममुखी काम गर्न प्रेरित र हौसला दिऔँ । यसरी पनि जिम्मेवारी भूमिकाको समान वितरण गर्न सजिलो हुनेछ। मैदानमा दरिलो साहस बोकेर आएका यी उज्याला मान्छेहरूको अनुहारको चम्किलो आभा र क्रान्तिकारी विजयको उन्माद र पराजयको उदासीनताले कहिल्यै विचलित नहोउन् । सबैलाई शुभकामना ।
(लेखक पराजुली नेकपा एमाले मोरङकी निवर्तमान जिल्ला कमिटी सदस्य साथै बेलबारी नगरपालिकाकी निवर्तमान उपमेयरसमेत हुन् )