काठमाडौँ । सिन्धुलीको मरिण गाउँपालिकाले बालविवाह न्यूनीकरण र महिलालाई उच्च शिक्षातर्फ प्रेरित गर्न अभिनव योजना सार्वजनिक गरेको छ। गाउँपालिकाले स्नातक तह पूरा गरेकी र अविवाहित युवतीलाई एक लाख रुपैयाँको प्रोत्साहन पुरस्कार प्रदान गर्ने नीति लागू गरेको हो।
मरिण गाउँपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार इच्छुक युवतीहरूले कात्तिक १३ गतेदेखि १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दासका अनुसार यो योजना आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेटमा समावेश गरिएको हो।
सुन्दासका भनाइमा, “स्नातक तह उत्तीर्ण गरी विवाह नगरेकी महिलाहरूलाई प्रोत्साहन रकम प्रदानसम्बन्धी कार्यविधि, २०७९ बमोजिम आवेदन दिन सकिनेछ। यसले बालविवाह घटाउने र युवतीहरूलाई उच्च शिक्षातर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ।”
गाउँपालिकाले यो कार्यक्रम स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ बमोजिम जारी कार्यविधि अनुसार सञ्चालन गरेको हो। गाउँपालिकामा पछिल्लो समय बालविवाहका घटना बढ्दै गएकोले त्यसलाई रोकथाम गर्न र शिक्षामा पहुँच विस्तार गर्न यो नीति प्रभावकारी हुने विश्वास लिइएको छ।
स्थायी रूपमा मरिण गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने र स्नातक तह उत्तीर्ण गरेकी युवतीहरूले आवेदन दिन पाउने व्यवस्था गरिएको छ।


