दसैँ, सडक सुरक्षा र चालकको दायित्व


भीमज्वाला राई – आजभोलि दिनहुँजसो सडक दुर्घटनाका समाचारहरू आइरहेका छन् । सडक दुर्घटनामा ज्यान गएको, घाइते तथा अंगभंग भएका खबरहरू आइरहेका छन् । दसैँको समय यात्रुहरूको चाप उच्च भएसँगै सवारीसाधनको संख्या र आवागमन पनि वृद्धि हुनु स्वाभाविक हो । सीमित सडक पूर्वाधार, बढ्दो यात्रुको चाप र सवारीसाधनको अविश्राम आवतजावतले सडक दुर्घटना निम्तिने गरेको तथ्यले देखाएको छ ।

सार्वजनिक यातायात क्षेत्रका लागि दसैँ एउटा अवसर हो । अरू समय यात्रुको चाप हुँदैन, नियमित सवारीसाधन गुडाउन पाइँदैन । दसैँका समय निरन्तर यात्रु ओसारपसार भइरहने हुँदा सवारीसाधनको नियमित चेकजाँच गर्न भ्याइरहेको हुँदैन । अविश्राम काम गरिरहँदा चालक थाकेका हुन्छन् । थकान, तनाव, हतारो, यान्त्रिक गडबडी, सीमित सडक पूर्वाधार र सवारीसाधनको अधिक चापले सडक दुर्घटना हुने गरेको छ ।

सडक दुर्घटना न्यूनीकरण देशको चासोको विषय हो, सबैको सरोकारको विषय हो । तर, सूर्योदयदेखि राति अबेलासम्म सडकमा जीवन खोजिरहने चालकका लागि अरूको भन्दा बढी जरुरतको विषय हो सडक सुरक्षा तसर्थ चालकहरूले निम्न विषयहरूलाई पालना गर्न सक्यो भने सडक दुर्घटनामा क्रमशः न्यूनीकरण हुनेछ ।

आफू सुरक्षित हुनुस् :

शारीरिक, मानसिक रूपमा म ठिक छु, म स्वस्थ छु, यो सवारीसाधनलाई म गन्तव्यसम्म सुरक्षित पुर्याउन सक्छु भन्ने महसुस गर्नुस् ।

तीव्र गति, जीवनको क्षति भन्ने कुरा सम्झिरहनुस् :

तीव्र गतिकै कारण सडक दुर्घटना बढी रहेको तथ्यले देखाएको छ । केही समय ढिला भए पनि धैर्य गर्नुस्, तीव्र गतिमा सवारी नचलाउनुस् । ढिला गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न भन्ने उखानलाई सम्झिनुस्, दुर्घटनामा ज्यान गएका अंगभंग भएका, दुर्घटनाकै कारण जेल परेका मजदुरका दर्दनाक व्यथा सम्झनुस् ।

सवारीसाधन चलाइरहँदा मोबाइलमा कुरा गर्दै नगर्नुस् :

पलभरको सानो गल्तीले सडक दुर्घटना हुने गरेको छ, जनधनको क्षति हुने गरेको छ । सवारीसाधन चलाइरहेको समय मोबाइलमा कुरा गर्दै नगरौँ । महत्त्वपूर्ण कल आएको अवस्थामा सवारीसाधन रोकेर कुरा गर्ने वा गन्तव्यमा पुगेर कलब्याक गरेर कुरा गर्ने बानी बसालौँ ।

क्षमता भन्दा बढी यात्रु नचढाउनुस् :

सवारीसाधनमा क्षमता भन्दा बढी यात्रुलाई कोचाकोच नचढाउनुस् । छोटो दुरीमा बाहेक लामो दुरीमा उभ्याएर यात्रा नगराउनुस् । अधिक भिडभाड गराएर यात्रा नगराउनुस् ।

दबाब र तनावमा काम नगर्नुस् :

काम नगरी हुँदैन भन्ने दबाबमा काम नगर्नुस् । र, तनाव छ भने पनि काम नगर्नुस् । दबाब र तनावमा सवारीसाधन चलाउँदा पनि सडक दुर्घटनाहरू हुने गरेको अध्ययन देखाएको छ । चालक आफू मात्रै खुशी होइन आफूले चलाएको सवारीसाधनमा यात्रा गर्ने अन्य यात्रुहरूलाई पनि हँसाएर रोमाञ्चित बनाएर सवारी चलाउनु पर्दछ ।

बढी भाडा नलिनुस् :

यात्रुहरूबाट तोकिएको भन्दा बढी भाडा लिँदै नलिनुस् । यात्रुहरूबाट बढी भाडा असुल गरेको पाइएमा कानुनले दण्डित गर्ने व्यवस्था गरेको छ त्यस्तो अपराध नगर्नुस् ।

समयलाई महत्त्व दिनुस् :

सवारीसाधन छुट्ने समयलाई ध्यान दिनुस् । एउटै रफ्तारमा सवारीसाधन चलाउनुस् । कतै तीव्र कुदाउने, कतै लामो समय रोकेर राख्ने नगर्नुस् । दुर्घटनाग्रस्त क्षेत्रहरूमा संयम भएर हिँड्नुस् ।

ट्राफिक नियम र सडक अनुशासनको पालना गर्नुस् :

हाम्रो राजमार्ग मृत्युमार्ग जस्तै भएका छन्, सडक दुर्घटनामा ज्यान जानेको संख्या कहाली लाग्दो छ । अधैर्य र जबरजस्त सडक प्रयोगकर्ता चालक (निजी तथा सार्वजनिक सवारीसाधनका चालक) का कारण सडक दुर्घटना वृद्धि भइरहेको छ । कमसेकम आफुलाई जिम्मेवार चालकका रूपमा परिचय बनाउनुस् ट्राफिक संकेतको पालना गर्नुस्, ट्राफिक नियमको अनुसरण गर्नुस् । ट्राफिक नियम र सडक अनुशासनमा इमानदार बन्नुस् ।

खानपानलाई व्यवस्थित गर्नुस् :

मादक पदार्थ सेवन (मापसे) र लागु पदार्थ सेवन (लापसे)बाट टाढा रहनुस् । हाम्रो कानुनले ड्रिङ्क्स् एण्ड ड्राईभलाई गैर कानुनी मान्दै दण्डसजायको व्यवस्था गरेको छ । यसको खास कारण सडक दुर्घटना नै हो । तसर्थ यो अक्षम्य अपराध नगर्नुस्, सक्नुहुन्छ मापसे मुक्त हुनुस् सक्नुहुन्न काम गरिरहेको समय यसबाट टाढा रहनुस् ।

काम र जीवनलाई सन्तुलित गर्नुस् :

आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जने श्रमिकहरूको जीवनसँग जोडिएका सन्दर्भ हुन् । आरामबिनाको निरन्तर कामले स्वास्थ्यमा असर पार्छ । जसका कारण दुर्घटना निम्तिन्छ र तपाईँ र तपाइको हातमा रहेका यात्रुहरूको जीवनमा असर पार्छ । तसर्थ काम र जीवनलाई सन्तुलन मिलाउनुस् । कामपछि परिवारसँग समय बिताउनुस्, सभ्य बोल्नुस्, पुरानै कपडा हुन् तर, सफा कपडा लगाउनुस् ।

महिला, बालबालिका र बृद्धबृद्धालाई सम्मान गर्नुस् :

तपाईँले चलाइरहेको सवारीसाधनमा महिला, बृद्धबृद्धा, बालबालिका, अशक्त र फरक क्षमताका यात्रुहरू हुन सक्छन् । उनीहरूको क्षमता र समस्याहरू तपाईँ हामी भन्दा फरक हुनसक्छ । सकेसम्म उनीहरूलाई सहयोग गर्नुस् सकिएन भने पनि कमसेकम सम्मान गर्नुस् । उनीहरू हाम्रो छोरी, छोरा, आमा, बुवा, श्रीमती वा परिवार जस्तै हुन सक्छन् भन्ने सम्झिनुस् ।

गुणस्तरहीन खानेकुरा बिक्री गर्ने होटेलमा यात्रु नलानुस् :

यात्राका क्रममा बाटोमा यात्रुलाई चिया, खाजा र खाना खुवाउने लाइन होटेलहरूमा जसले स्वस्थ र गुणस्तरीय खानपान गराउँछ त्यस्ता होटेलमा मात्रै सवारीसाधन रोक्नुस् । जनस्वास्थ्यमा खेलबाड गर्ने र जनतालाई ठगी गर्ने लाइन होटेलहरूमा सवारीसाधन रोक्दै नरोक्नुस् ।

यात्रुमैत्री हुनुस् :

सार्वजनिक यातायातको यात्रा पीडादायी हुन्छ भन्ने अनुभूत गर्नुस् । सबैको स्वास्थ्य एकनासको हुँदैन कतिपय यात्रुहरू सुगर, प्रेसरका रोगीहरू हुन्छन्, वृद्धवृद्धाहरू, महिला बालबालिका र अशक्तहरू हुन्छन् उनीहरूलाई समय समयमा शौचालय आवश्यकता पर्न सक्छ भन्ने विषय हेक्का राख्नुस् ।

लाइसेन्स र कागजपत्र साथमा राख्नुस् :

तपाईँको साथमा सवारीसाधनको ब्लुबुक, जाँचपास, रुटपरमिट, चालक अनुमति पत्र (लाइसेन्स) बिमाको कागज लगायत साथमा राख्नुस् । बाटोमा चेकजाँच गर्ने अधिकारीले कागजातहरू माग गरेमा देखाउनुस् । कुनै किसिमको समस्या भए वादविवाद नगर्नुस् । कागजपत्र जफत गरिए सम्बन्धित प्रालि वा संघ, संगठनलाई जानकारी गराउनुस् ।

सवारीसाधनको अवस्था चेक गर्नुस् :

सुरक्षित यात्राका लागि सवारीसाधन ठिक हुनु पर्छ । हामीले चलाउने सवारीसाधन ग्यारेजबाट निकाल्नु अघि र ग्यारेजमा राख्ने समयमा सवारीसाधनको अवस्थाको चेकजाँच गर्नुस् । मोविल, पानी, इन्धन, ब्रेक, टायर, टाइरड, इन्जिन, अतिरिक्त टायर लगायत अत्यावश्यक र महत्त्वपूर्ण पार्टपुर्जाहरू राम्ररी चेकजाँच गर्नुस् । आफूले चलाउने सवारीसाधनको अवस्थालाई सधैँ ठिक अवस्थामा राख्नुस् ।

नेपालमा सडक दुर्घटनाको डरलाग्दो रूप :

सडक दुर्घटनामा प्रत्येक वर्ष नेपालमा २ हजार ८ सय ८० जनाको ज्यान गइरहेको छ । सडक दुर्घटनामा परेर प्रत्येक वर्ष १४ हजार ४ सयको हाराहारीमा घाइते भईरहेका छन् । दसैँ तथा चाडपर्वका समय सडक दुर्घटनामा वृद्धि हुने गरेको छ ।

सडक दुर्घटनाका कारणहरू :

भौतिक कारण, पर्याप्त सडक पूर्वाधार नहुनु, मापदण्ड विपरीत प्रविधिविहीन सडक र अत्यधिक सवारीसाधनको चाप सडक दुर्घटनाको कारण बनेको छ । मानवीय कारण, मानवीय अन्तर्गत चालक, पैदलयात्री तथा सडक उपभोक्ताहरू पर्दछन् । सडक प्रयोग गर्दा उनीहरूसँग हुनु पर्ने चेतना, ज्ञान, सिप र अनुभवहरूका कारण सडक दुर्घटना निम्तिने गर्दछ ।

यान्त्रिक कारण, सुरक्षित यात्राका लागि सवारीसाधन उपयुक्त हुनु पर्दछ, अवस्था राम्रो हुनु पर्दछ । यान्त्रिक रूपमा सवारीसाधन ठिक हुनु आवश्यक छ । पर्यावरणीय कारण, कुनै वस्तु, विषय, व्यक्ति आदिको स्थिति वा वातावरण पनि दुर्घटनाको कारण हो । साथै हावा, पानी, आँधिहुरी, बाढी, पहिरो हुस्सु, कुहिरो आदिका कारण सडक दुर्घटना हुने गरेको छ ।

अन्त्यमा :

सडक दुर्घटना न्यूनीकरण मजदुरहरुको एकल प्रयासबाट मात्रै सम्भव छैन । यसो भनेर हामी गैरजिम्मेवार हुन मिल्दैन । सडक दुर्घटनाको सामाजिक, आर्थिक र मानवीय असरलाई हामी श्रमिकहरूको तर्फबाट एउटा प्रयत्न भयो भने सबैलाई फाइदा हुनेमा दुइमत छैन ।

 

(राई, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष हुन् ।)

 

प्रतिक्रिया दिनुहोस्