बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाट प्रकरणमा दुई जना पक्राउ


काठमाडौं । काठमाडौँको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा भएको लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले सो घटनामा संलग्न रहेका दीपक श्रेष्ठ र नरेशकुमार यादवलाई पक्राउ गरेको जानकारी दिएको हो ।

प्रहरीका अनुसार उनीहरूलाई विस्तृत अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। प्रारम्भिक बयानमा दुवैले लुटपाटमा आफैँ संलग्न नभएको दाबी गरेका छन् भने घटनामा अन्य कोही व्यक्तिहरू संलग्न थिए वा थिएनन् भन्ने विषयमा आफूहरूलाई जानकारी नभएको बताएका छन् । यद्यपि, प्रहरीले उनीहरूको गतिविधि र घटनाको पृष्ठभूमि सम्बन्धी थप प्रमाण सङ्कलन गरिरहेको जनाएको छ ।

गत भदौ २४ गते देशभर उग्र रूप लिएको प्रदर्शनका क्रममा काठमाडौं उपत्यकासहितका विभिन्न क्षेत्रमा निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएका थिए । सोही क्रममा बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा समेत अज्ञात समूहले आक्रमण गरी तोडफोड र आगजनी गरेको थियो । बैंकका कागजात, फर्निचर र उपकरणमा क्षति पुगेको थियो ।

घटनापछि नेपाली सेनाले पाँच जना व्यक्तिलाई प्रारम्भिक रूपमा नियन्त्रणमा लिएर अनुसन्धानका लागि प्रहरीसमक्ष बुझाएको थियो। तीमध्ये दुई जनामाथि आवश्यक प्रमाणका आधारमा औपचारिक रूपमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीका एक अधिकारीका अनुसार, “घटनामा संलग्न सबै व्यक्तिको पहिचान र नियोजित योजनाको खोजी जारी छ । बैंक जस्तो संवेदनशील संस्थामा भएको आक्रमण गम्भीर अपराध हो, त्यसैले कसैलाई पनि उन्मुक्ति दिइँदैन ।”

हाल पक्राउ परेकामाथि सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी र लुटपाटसम्बन्धी कानुनी प्रक्रिया अगाडि बढाइएको छ । बैंकले पनि घटनाबाट भएको क्षतिपूर्तिका लागि आवश्यक विवरण सङ्कलन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्