लकडाउनमा खटिएका प्रहरी कतिको सुरक्षित ?


अर्जुन कुलुङ राई (खनेन्द्र) –

मोरङ, १६ चैत / विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को जोखिमलाई ध्यानमा राखी नेपाल सरकारले लागु गरेको लकडाउनलाई कार्यान्वयन गर्न नागरिकको सुरक्षामा प्रहरी दिन रात खटिरहेका छन् ।

कोरोनाको खतराबारे नागरिक सचेत भए पनि लकडाउन उल्लंघन गर्नेको कमी छैन । सरकारले भने देशका नागरिकलाई घरमा बस्न आव्हान गरेको छ । उल्लंघन गर्दै सडकमा निस्केका मानिसहरूलाई घरमा रहन आग्रह गर्नुको साथै घर फर्काउन खटिएका प्रहरीहरू कतिको सुरक्षित छन् त, भन्ने प्रश्न पनि छ ।

जनस्तरमा अत्यावश्यक काममा सहयोग गर्ने प्रथम जिम्मेवारीको अभिभारा समाली रहेका छन् । सहयोग गर्नु परेमा वा आग्रह गर्नु परेमा बाहिर सडकमा हिँड्ने प्रत्येक मानिसहरू सँग प्रत्यक्ष नजिकबाट प्रहरीको सम्पर्क हुन्छ । तर प्रहरीलाई स्तरीय सुरक्षा सामाग्री उपलब्ध छैन ।

मोरङ भित्र पनि नागरिकको सुरक्षामा खटिएका प्रहरीको सुरक्षा सामग्री हेर्ने हो भने सामान्य रूपमा मुहारमा युज एन्ड थ्रो मास्क र हातमा पन्जा मात्र छ । तर केहीले त त्यो पनि प्रयोग गरेको देखिँदैन । सायद अभावको कारणले नै हुनु पर्छ ।

स्वास्थ्यकर्मीको साथै प्रहरीको कामलाई पनि हेर्ने हो भने स्तरीय सुरक्षा सामग्रीको प्रयोग गर्नु पर्ने देखिन्छ । तर प्रहरीले मास्क, पन्जा र साबुन पानीले हात धोएको भरमा काममा खटी रहेका छन् ।

नागरिकले लकडाउनको पालना गरे प्रहरी पनि सुरक्षित हुने, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारी बताउँछन् । उनले भने, ‘नागरिकले लकडाउनको पालना गर्नु नै प्रहरी र नागरिक दुवै सुरक्षित हुनु हो ।’

काममा प्रहरीले मास्क, पन्जा लगाएर र दुरी राखेर नागरिकहरूसँग भेटघाट गर्ने पर्ने हुन्छ । मास्क र पन्जा पनि पर्याप्त नहुँदा सावधानी अपनाएर नै काम गरिरहेको एसपी अधिकारी बताउँछन् । एसपी अधिकारीका अनुसार घरमा बस्नु नै प्रहरी र नागरिक सुरक्षित हुने उत्तम उपाय हो । तर खाद्यान्न दैनिक उपभोग्य वस्तु खरिदको लागि मानिसहरू घरबाट निस्किनु पर्ने बाध्यता पनि रहेको छ ।

इलाका प्रहरी कार्यालय पथरीशनिश्चका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) दिलीप गिरी भन्छन्, ‘सुरक्षा सामाग्रीमा मास्क, पन्जा र साबुन पानीको प्रयोग गरेर काम गरिरहेका छौ । अन्य विशेष सुरक्षा सामाग्री उपलब्ध भए राम्रो हुन्थ्यो तर देशमा नै यसको अभाव छ तसर्थ सावधानी अपनाएर नागरिकलाई लकडाउनमा घर भित्रै रहन आग्रह गरी रहेका छौ ।’

पथरीशनिश्चर नगरपालिकामा प्राय सबै नागरिक घर भित्रै बसेकाले नगर सुरक्षित नै रहेको उपरीक्षक गिरी बताउँछन् । उनले, लकडाउनमा सबै नागरिक घर भित्र रहे प्रहरी पनि सुरक्षित हुने बताए ।

बेलबारी नगरपालिकामा पनि सोही अवस्था छ । प्रहरी कार्यालय प्रवेश गर्दा अनिवार्य साबुन पानीले हात धुने व्यवस्था रहेको छ भने कार्यालय बाहिर काम गर्दा सुरक्षा सामाग्री मास्क र पन्जाको मात्र प्रयोग गरिरहेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख निरीक्षक गुनराज बुढाथोकी पनि नागरिकलाई घरमा रहन आग्रह गर्दछन् ।

मानिसहरूसँग भेटघाट गर्दा ४, ५ फुटको धुरी राखेर बोलचाल गर्ने र प्रहरी कार्यालय प्रवेश गर्न अघि साबुन पानीले राम्रो गरी हात दुने व्यवस्था गरेको लेटाङ प्रहरी कार्यालय प्रमुख निरीक्षक अशोक जदेबु लिम्बु बताउँछन् ।

सुरक्षा सामग्रीमा कपडाको मास्क र पन्जा मात्र प्रयोग गरी रहेको निरीक्षक लिम्बुले बताए । विदेशबाट आउनेलाई विशेष निगरानी राखेर, स्थानीय सरकारको समन्वय र सहयोगमा लेटाङ नगरपालिका तथा लेटाङ प्रहरी कार्यालयको कार्यक्षेत्र भित्र प्रहरी आफै सावधानी अपनाउँदै नागरिकको सुरक्षामा खटिरहेको निरीक्षक लिम्बुले बताएका छन् ।

इलाका प्रहरी कार्यालय उर्लाबारीले पनि सोही प्रकारको व्यवस्थापनमा काम गरी रहेको जनाएको छ । सबै प्रहरीलाई, स्तरीय पर्सनल प्रोटेक्सन इक्युमेन्ट (पिपिइ) को व्यवस्था भए हुन्थ्यो भन्ने छ ।

कन्सल्टेन्ट फिजिसियन डा.मनिस सुवेदी भन्छन्, ‘ अहिले युद्धमा नेलकटरको चक्कु बोकेर गएको जस्तो भएको छ । प्रहरीहरू मास्क, पन्जा, सेनिटाइजरको प्रयोगले मात्र सुरक्षित हुदैन्न । विशेष सुरक्षा सामग्रीको अभाव छ त्यस अनुसार सावधानी सबैले अपनाउनु पर्छ । नेपाल सरकारले जनताको सुरक्षाको लागि लागु गरेको लकडाउनको उल्लंघन नगर्नु नै नागरिक अनि प्रहरी दुवै असुरक्षित हुनु हो ।’

उनी भन्छन्, स्तरीय पर्सनल प्रोटेक्सन इक्युमेन्ट (पिपिइ) को अझ धेरै आवश्यकता प्रत्येक अस्पतालमा काम गर्ने डाक्टर, नर्स लगायत सबै स्वाथ्यकर्मीहरुलाई आवश्यक छ । बिरामीसँग प्रत्यक्ष सम्पर्कमा रहनु पर्ने हुन्छ तर स्तरीय सुरक्षा सामाग्री छैन । परिस्थिति अनुसार सावधानी अपनाएर काम गर्नुको अर्को विकल्प नभएको डा.सुवेदी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्