तमु ल्होसार, गुरुङ समुदायहरूको नयाँ संवत


मोरङ, १३ पुस /  गुरुङ समुदायहरूको महान् पर्व तमु ल्होसार नजिकिन्दैछ । पुस महिना १५ गते मनाइने ल्होसारको तयारी पनि गुरुङहरूले उत्तिकै हर्षोल्लासको साथ अहिले गरी रहेका छन् ।

तमु ल्होसारको बारेमा कुरा गर्ने हो भने यो पर्वलाई गुरुङ समुदायको नयाँ संवत सुरु भएको पनि मानिन्छ । यो पुस महिनाको १५ गते पर्ने गर्दछ ।
प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूको प्रथम महापुरुषको उत्पत्ति भएको मानिन्छ । ल्होसारकै दिन भन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरु गरिन्छ ।

साँझ पूजापाठ, भोजभतेर, नाचगान गरी आधा रातमा नयाँ वर्ष आएको भन्दै नयाँ वर्षको स्वागत गरिने परम्परा रहेको छ । ल्होसारको दिन बिहानदेखि नै भेटघाट, आशीष आदानप्रदान गर्दे नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धूमधामका साथ मनाइन्छ ।

ल्होसारको दिन गुरुङ जातिहरू आफ्नै शैलीका भेषभुषा (शिरबन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु, मजेत्रो) महिलाहरूले लगाएर सजिन्छन् भने पुरुषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् । त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन् ।

गुरुङ जातिहरूले प्रचलित नाच कौडा नाच नाचेर आफ्ना परिवार, इस्टमित्रहरुसँग रमाइलो गरी ल्होसार मनाउँछन् ।

प्रतिक्रिया दिनुहोस्