मोरङ । मोरङको जहदा गाउँपालिका–३ डातिबन्दाबाट प्रहरीले ३३ किलोभन्दा बढी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाले एम्बुलेन्समा लुकाइछिपाई गाँजा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार २०८२ साल कात्तिक १९ गते राति करिब १० बजे लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र वडा प्रहरी कार्यालय डाटखोलाबाट खटिएको संयुक्त प्रहरी टोलीले उत्तरतर्फबाट दक्षिणतर्फ जाँदै गरेको स १ च ६५६ नम्बरको एम्बुलेन्सलाई शंका लागेर रोकजाँच गरेको थियो ।
जाँचका क्रममा उक्त एम्बुलेन्समा दुईवटा कालो झोलामा लुकाइराखिएको ३३.६१० केजी अवैध गाँजा फेला परेको प्रहरीले जनाएको छ । सो क्रममा एम्बुलेन्स चालक मोरङको विराटनगर महानगरपालिका–५ कोचाखल बस्ने ३२ वर्षीय दुर्गा प्रसाद राजवंशी र एम्बुलेन्सलाई स्कटिङ गर्दै आएको को ३१ प ८८८९ नम्बरको मोटरसाइकल चालक जहदा गाउँपालिका–३ डातिबन्दा बस्ने ३२ वर्षीय दिलीप कुमार राजवंशीलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा सूचना अधिकारी प्र.ना.उ. कोपिला चुँडालले जानकारी दिइन् । प्रहरीले बरामद गरेको सवारीसाधनमा स १ च ६५६ नम्बरको एम्बुलेन्स र को ३१ प ८८८९ नम्बरको मोटरसाइकल रहेका छन् । पक्राउ परेकामाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गतको मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


