काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जेनजी पुस्ताले अघि सारेका मागहरू बेवास्ता गरिए देशमा ठुलो स्तरको विद्रोह हुन सक्ने चेतावनी दिएका छन् ।
बिहीबार राजधानीको भृकुटीमण्डपमा पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै महासचिव चन्दले वर्तमान राजनीतिक परिदृश्यले देशलाई पुनः अस्थिरताको दिशातर्फ धकेल्दै लगेको बताएका छन् । उनले पूर्वमुख्य न्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले रहस्यमय ढंगले गठन भएको दाबी गर्दै त्यस सरकारको विघटन र नयाँ सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने माग पनि राखे ।
चन्दले भने, “जेनजी आन्दोलनले नेपालको संसदीय व्यवस्थाको असफलता उजागर गरेको छ । संसद् विघटनपछि देशमा कुशासन, भ्रष्टाचार र लुटतन्त्र हाबी भएको छ, जसको विरुद्ध अब जनता उठ्नुपर्ने बेला आएको छ ।”
उनका अनुसार अहिलेका दलहरू जनताको अपेक्षा पुरा गर्न असफल भएका छन् र देश फेरि अस्थिरतातर्फ धकेलिँदै गएको छ । उनले संविधान संशोधन वा पुनर्लेखनको आवश्यकता औँल्याउँदै राज्यको पुनर्संरचना जनताको हित र राष्ट्रिय आवश्यकता अनुरूप हुनुपर्नेमा जोड दिए ।
महासचिव चन्दले राजनीतिक दलहरू जेनजी आन्दोलनका मागप्रति संवेदनशील नबने देशमा फेरि ठुलो राजनीतिक विस्फोट हुने चेतावनी दिँदै, आन्दोलनका मागहरूलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउन सबै पक्षलाई आग्रह गरेका छन् ।


