मोरङ । मोरङ प्रहरीले विराटनगर महानगरपालिका–५ पुलचोक नजिक डुलाकी सडक छेउबाट खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकालाई स्कुटरमा सवार अवस्थामा शंका लागेर प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार २०८२ साल कात्तिक १९ गते साँझ करिब ६ बजे लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले BR50AD 0227 नम्बरको स्कुटरमा सवार दुई जनालाई चेकजाँच गर्दा लागूऔषध खैरो हिरोइनजस्तो देखिने ५३.१७ ग्राम पदार्थ फेला पारेको हो ।
प्रहरीका अनुसार पक्राउ परेकामा सुनसरीको देवानगंज गाउँपालिका–२ का १९ वर्षीय विकास कुमार यादव र भारतको बिहार राज्य, पुर्णिया जिल्ला, भवानीपुरका १९ वर्षीय कृष्ण कुमार मेहता रहेका छन् । हिरोइन कृष्ण कुमार मेहताको साथबाट बरामद गरिएको प्रहरीको भनाइ छ ।
दुवैजनालाई स्कुटरसहित नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिइन् ।
प्रहरीले बरामद गरेको BR50AD 0227 नम्बरको भारतीय स्कुटर पनि नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही अघि बढाइएको जनाएको छ । पक्राउ परेकामाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरेर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


