प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै देशव्यापी आन्दोलनमा जाने एमाले अध्यक्ष ओलीको चेतावनी


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन्। बिहीबार भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा पुगेका नेता तथा कार्यकर्तासँग भेटघाट गर्दै उनले हालैको प्रतिनिधिसभा विघटन असंवैधानिक र जनमतविपरीत भएको आरोप लगाए।

ओलीका अनुसार, कुनै संवैधानिक हैसियत नभएको सरकारले प्रतिनिधिसभा विघटनको सिफारिस गरी देशलाई “छाडातन्त्र” तर्फ धकेल्ने प्रयास गरेको हो। उनले राष्ट्रपति रामचन्द्र पौडेलले समेत असंवैधानिक सिफारिसको आधारमा प्रतिनिधिसभा विघटन गरेर गम्भीर गल्ती गरेको टिप्पणी गरे।

“यो असंवैधानिक सरकारले प्रतिनिधिसभा किन भङ्ग गरेको हो भने देशलाई बेलगाम छाडातन्त्रमा चलाउनका लागि गरेको हो,” ओलीले भने, “सिफारिस गर्ने हैसियत नै नभएकाहरूले सिफारिस गरेका छन्, संविधानको कुनै धारामा आधार नहुने गरी राष्ट्रपतिज्यूले प्रतिनिधिसभा भङ्ग गर्नुभएको छ, गर्नु हुँदैनथ्यो।”

अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि एमालेले देशभर आन्दोलन सुरु गर्ने चेतावनी दिँदै भने, “हामी प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै आन्दोलन गर्छौँ र संविधानको पक्षमा जनताको आवाज बुलन्द गर्छौँ।”

प्रतिक्रिया दिनुहोस्