लेटाङ नगरपालिकाको नीति, बजेट र कार्यक्रम सार्वजनिक : पारदर्शितामा जोड


लेटाङ । लेटाङ नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि तय गरेको नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार सत्रौँ नगरसभाको निर्णय सार्वजनिकिकरण कार्यक्रममा औपचारिक रूपमा नीति तथा बजेट सार्वजनिक गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि तथा प्रदेश प्रमुख पर्शुराम खापुङले लेटाङको समग्र विकासमा प्रदेश सरकार सधैँ सहकार्य गर्न तयार रहेको बताउँदै यस्ता पारदर्शी कार्यक्रमहरूले स्थानीय सरकार र नागरिकबिचको विश्वास बलियो बनाउने विश्वास व्यक्त गरे । उनले लोकतन्त्रमा पारदर्शिता अपरिहार्य रहेको उल्लेख गर्दै स्थानीय सरकारको मजबुतीकरणले नै देशको सर्वाङ्गीण विकास सम्भव हुने विश्वास व्यक्त गरे । उनले भने, “लोकतन्त्रमा पारदर्शिता अत्यन्तै महत्त्वपूर्ण कुरा हो । यस्तो कार्यक्रमले स्थानीय सरकार मजबुत हुने वातावरण बनाउँछ ।” नगर प्रमुख भूपेन्द्र कुमार लावतीको नेतृत्वमा नीति, कार्यक्रम र बजेट सार्वजनिक गरिएकोमा खापुङले शुभकामना व्यक्त गरे ।

कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश अध्यक्ष तथा प्रतिनिधिसभाका पूर्व सदस्य घनश्याम खतिवडा, कोशी प्रदेशका पूर्व मन्त्री उपेन्द्र घिमिरे, पूर्व नगर प्रमुख शंकर राई, नेकपा एमाले नेता युवराज वास्कोटालगायत राजनीतिक, सामाजिक र स्थानीय नेतृत्वको उपस्थिति देखिएको थियो ।

नगर प्रमुख लावतीले नीति तथा बजेट सार्वजनिक गर्दै सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै पूर्वाधार विकास, आर्थिक तथा सामाजिक रूपान्तरण, सुशासन प्रवर्द्धन र नागरिक सन्तुष्टिमा केन्द्रित भएर योजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । उनले नगरको समृद्धि र सुसंस्कृत नगर निर्माणलाई लक्ष्य राखेर नीतिहरू तयार गरिएको बताए । उपप्रमुख विष्णुमाया पोख्रेलले बजेट तथा कार्यक्रमका मुख्य अंशहरूको संक्षिप्त विवरण प्रस्तुत गर्दै नागरिक सहभागितामा आधारित योजनाहरू ल्याइएको जानकारी दिइन् ।

सो अवसरमा नगरपालिकाले तयार पारेका आर्थिक ऐन, विनियोजन ऐन, नगर शिक्षा योजना, बजेट नीति तथा कार्यक्रम पुस्तिका, खेलकुद तथा स्काउट बुकलेट, न्यायिक समिति, सार्वजनिक लेखा समिति तथा योजना अनुगमन समितिको प्रतिवेदन सार्वजनिक गरिएको थियो । लेटाङ नगरपालिकाले पछिल्ला वर्षहरूमा विकास योजनालाई पारदर्शी र सहभागीगत ढाँचामा अघि बढाउँदै आएको छ । नीति तथा बजेट सार्वजनिकिकरण कार्यक्रमले नगरको समग्र विकासमा सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ ।

लेटाङ नगरपालिकाद्वारा सम्मान

कार्यक्रममा लेटाङको विकासको लागि योगदान पु¥याउने विभिन्न व्यक्तित्व र संस्थालाई सम्मान गरिएको छ । लेटाङ–५ मा कार्यालय भवनका लागि जग्गा निःशुल्क प्रदान गर्ने टोमनाथ मगर, पुनम मास्की मगर र घनश्याम मगर तथा आधारभूत स्वास्थ्य केन्द्रका लागि जग्गा दिने मानबहादुर चौहान, डम्बरकुमारी कार्की र अर्थबहादुर कार्कीलाई सम्मानपत्रद्वारा नगरपालिकाले सम्मान गरेको छ ।

शिक्षा क्षेत्रमा उत्कृष्टता देखाउने विद्यालय र शिक्षकहरूलाई पुरस्कार वितरण गरियो । कार्य सम्पादनमा उत्कृष्ट विद्यालयतर्फ श्री शान्ति भगवती मावि प्रथम र श्री शिक्षा विकास मावि दोस्रो भए भने आधारभूत तहमा श्री बाल विकास आधारभूत विद्यालय प्रथम र श्री पब्लिक प्राथमिक विद्यालय दोस्रो भएको छन् ।

दीर्घ सेवा प्रदान गरेका शिक्षक तथा कर्मचारीमध्ये श्रीप्रसाद ढकाल, नारायण खतिवडा र बलबहादुर मगर सम्मानित भएका छन् । नगरको उत्कृष्ट कर्मचारीका रूपमा इन्द्रकला कुमारी चौधरी सम्मानित भएकी छिन । इनोभेटिभ टिचरको सम्मान श्री देवराज सापकोटाले प्राप्त गरे ।

एसईई २०८० मा उत्कृष्ट जीपीए हासिल गरेका सामुदायिक विद्यालयका पूजा दाहाल र आभाष मिश्र, संस्थागत विद्यालयका सामना लिम्बु र गौरव अधिकारीलाई नगरपालिकाले हौसला प्रदान गर्दै सम्मान गरेको छ । साथै कक्षा ८ उत्तीर्णमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू अनुस्का मगर, पृथ्वीराज कटुवाल, अर्लि मगर र आयुस खत्री सम्मानित भएका छन् ।

सर्वाधिक विद्यार्थी उत्तीर्ण गराउने विद्यालयतर्फ लक्ष्मी मा.वि पित्लुम्बा लेटाङ ७ ले सम्मान प्राप्त गरेको छ । उत्कृष्ट कृषकका रूपमा राज विक्रम राई, राजन सापकोटा र पलमकुमारी मगरलाई सम्मान गरिएको छ ।

खेलकुद क्षेत्रमा राष्ट्रिय तथा प्रदेशस्तरीय प्रतियोगितामा सफलता हासिल गरेका खेलाडीहरू, महिला भलिबल खेलाडी लीला लिम्बु, सोलिना लिम्बु, स्मृति राई; बी डिभिजन फुटबल खेलाडी ध्रुव तिरुवा, सुमन मगर; करातेमा स्वर्ण पदक विजेता दीपशिखा राई र पूजन विकलाई समेत नगरपालिकाले सम्मान गरिएको छ ।

कार्यक्रमको समापन गर्दै प्रदेश प्रमुख खापुङले लेटाङ नगरपालिकाले स्थानीय विकासमा अग्रसर भई उदाहरणीय भूमिका निर्वाह गरिरहेको भन्दै आगामी दिनमा अझ प्रभावकारी कार्यका लागि शुभकामना व्यक्त गरे । साथै पूर्व प्रदेश सांसद उपेन्द्र घिमिरे, पूर्व सांसद घनश्याम खतिवडा, पूर्व नगर प्रमुख शंकर राई, राजनीतिक दलका तर्फबाट गोपाल नेपालीले शुभकामना मन्तव्य राखे ।

बजेट तथा नीति कार्यक्रम

उपप्रमुख पोख्रेलले बजेट तथा कार्यक्रमको विस्तृत प्रस्तुति दिँदै सेवा प्रवाहलाई सरलीकृत र प्रविधिमैत्री बनाउन, आर्थिक स्थायित्व कायम गर्न, नागरिक सहभागितामा आधारित बजेट निर्माण गर्न, उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्दै रोजगारी सृजना तथा गरिबी न्यूनीकरणमा जोड दिइएको स्पष्ट पारिन् । साथै, उनले भौतिक पूर्वाधार निर्माण, शैक्षिक गुणस्तर सुधार, प्राकृतिक स्रोतको संरक्षण, सामाजिक समस्या न्यूनीकरण र विपद् व्यवस्थापनमा जनसहभागितालाई विशेष प्राथमिकता दिइएको उल्लेख गरिन् ।

नगरपालिकाको चालु आव २०८१/८२ को आर्थिक प्रगति विवरण पनि सार्वजनिक गरिएको थियो । कुल आय ६१ करोड १८ लाख ५० हजार रुपैयाँमध्ये ९९.५२ प्रतिशत प्राप्त भई कुल खर्च ५१ करोड ७५ लाख ७० हजार रुपैयाँ अर्थात् ८४.१९ प्रतिशत भएको जानकारी दिइयो । चालु खर्चतर्फ ८४.९३ प्रतिशत र पुँजीगत खर्चतर्फ ८२.१८ प्रतिशत बजेट खर्च भएको थियो । सामाजिक सुरक्षा, स्वास्थ्य क्षेत्र सुधार र एकीकृत स्वास्थ्य पूर्वाधार विकासमा पनि उल्लेखनीय खर्च भएको जानकारी दिइएको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नगरपालिकाले कुल ६१ करोड ६ लाख २८ हजार २ सय रुपैयाँको बजेट विनियोजन गरेको छ । आन्तरिक आय, संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदान, वित्तीय समानिकरण तथा सशर्त अनुदानमार्फत उक्त बजेट जुटाइनेछ । कुल बजेटमध्ये ६९.०७ प्रतिशत चालु खर्च र ३०.९३ प्रतिशत पुँजीगत खर्च विनियोजन गरिएको छ ।

विषयगत क्षेत्रमा आर्थिक विकासतर्फ ४ करोड ३२ लाख, सामाजिक विकासतर्फ २६ करोड ७५ लाख, पूर्वाधार विकासतर्फ १४ करोड ५० लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ३ करोड ८३ लाख र कार्यालय सञ्चालन तथा विविधतर्फ ११ करोड ६५ लाख विनियोजन गरिएको छ ।

नगरको समग्र विकासलाई लक्ष्य गरेर वडा स्तरीय योजना, एक वडा एक नगर गौरव योजना, अन्तरधार्मिक शान्ति पार्क निर्माण, सडक पूर्वाधार, कृषि, पशुपक्षी, पर्यटन, उद्यम र जलस्रोत विकासमा विशेष ध्यान दिइएको छ । शैक्षिक पूर्वाधार, महिला तथा बालबालिका, स्वास्थ्य सेवा, विपद् व्यवस्थापन, चुरे संरक्षण र सामुदायिक वन संरक्षण लगायतका क्षेत्रमा समेत योजनाबद्ध रूपमा बजेट विनियोजन गरिएको जानकारी उपप्रमुख पोख्रेलले दिइन् ।

नगरपालिका भित्रका विद्यालयहरूमा स्मार्ट बोर्ड वितरण, प्रधानाध्यापक प्रोत्साहन भत्ता, अभिभावक शिक्षा, वृत्ति परामर्श, शैक्षिक प्रदर्शनी र बालिका शिक्षा बचत कार्यक्रमसहित शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । कृषकलाई दूध र टमाटर उत्पादनमा उत्पादनका आधारमा अनुदान, ग्रामीण भेट्नरी प्राविधिक तालिम, लिफ्टिङ्ग खानेपानी तथा सिँचाइमा विद्युत् महसुल अनुदान, सर्पदंश उपचार सेवा, खेलकुद प्रतियोगिता तथा सीप विकास कार्यक्रम सञ्चालन हुनेछन् ।

कार्यक्रममा नगरवासीसँग प्रत्यक्ष सरोकार राख्ने योजनाहरू सार्वजनिक गर्दै बजेट पारदर्शी र जनउत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्