भोजपुरलाई स्तब्ध पार्दै सहलेश यूथ क्लब फाइनलमा


मोरङ । सिरहाको सहलेश यूथ क्लबले शानदार प्रदर्शन गर्दै आठौँ बेलबारी अन्तर्राष्ट्रिय रनिङ गोल्डकपको फाइनलमा स्थान बनाएको छ । शुक्रवार मोरङको बेलबारी-११, लक्ष्मीमार्गस्थित खेलमैदानमा सम्पन्न दोस्रो सेमिफाइनलमा सहलेशले भोजपुर फुटबल संघलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

उत्साहजनक खेलको अन्तिम मिनेटमा सहलेशका जर्सी नम्बर ११ का सुजन डंगोलले निर्णायक गोल गर्दै टिमलाई फाइनलमा पुर्‍याए। खेलभर दुवै टोलीबिच तीव्र प्रतिस्पर्धा भए पनि निर्णायक क्षणमा सहलेशले मौका सदुपयोग गर्न सफल रह्यो । पहिलो हाफमा सहलेशका मिलन राईको फ्रिकिक कमजोर रह्यो भने भोजपुरका श्याम मुर्मु र योगेन कार्कीले पनि केही अवसर गुमाए । खेलको दोस्रो हाफमा १८ नम्बरका योगेन कार्की दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि भोजपुर दबाबमा परेको थियो ।

म्यान अफ द म्याच भोजपुरका कप्तान विवेक राई घोषित भए। उनले नगद ७ हजार रुपैयाँ पुरस्कार पाए । खेलको प्रमुख आतिथ्य विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गरेका थिए । सहलेश यूथ क्लब अब उपाधिका लागि बि डिभिजन लिग विजेता प्लानिङ ब्वाईज युनाइटेड, काठमाडौँसँग कार्तिक १ गते भिड्नेछ ।

बेलबारी नगरपालिका मुख्य सहयोगी र आरजु राइस मिल मुख्य प्रायोजक रहेको प्रतियोगितामा विजेताले ८ लाख र उपविजेताले ४ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। ३ किलो चाँदी र डेढ तोला सुन जडित ट्रफी स्थायी रूपमा जित्नका लागि कुनै क्लबले लगातार तीन वर्ष उपाधि हात पार्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्