मोरङ । करिब दुई सातादेखि हराइरहेकी लेटाङ नगरपालिका-२ फडानीकी १३ वर्षीया बालिका अंशु गौतमको शव शुक्रवार बिहान बेलबारी-चिसाङ साझेदारी बन क्षेत्रमा विक्षिप्त अवस्थामा फेला परेको छ । लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत अंशुको शव अत्यन्तै बीभत्स ढङ्गले हत्या गरेर फालिएको अवस्थामा स्थानीयवासीले घाँस काट्ने क्रममा देखेका थिए ।

शवको अवस्था यति दर्दनाक थियो कि उनको चप्पल, हाफ प्यान्ट, भित्री वस्त्र, घडी र शरीरका भागहरू फरक-फरक ठाउँमा भेटिएका थिए । कम्मरमुनि र कम्मरमाथिको शरीर छुट्टाछुट्टै अवस्थामा भेटिँदा हेर्ने जो-कोहीको आँखा रसाएको थियो । टाउकोको अस्थिपञ्जर र कपाल अर्को तिर फेला परेको प्रहरीले जनाएको छ ।
यो क्रूर र अमानवीय घटनाले सम्पूर्ण गाउँ शोकमा डुबेको छ । परिवार शोक र आक्रोशमा छ भने स्थानीयवासीले दोषीहरूलाई चाँडोभन्दा चाँडो कानुनी दायरामा ल्याउन माग गरेका छन् । मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले घटनालाई अत्यन्त गम्भीर अपराधको रूपमा लिएर सूक्ष्म अनुसन्धान सुरु गरिएको बताए । उनले घटनाको कारण र संलग्न व्यक्तिहरू पत्ता लगाउन प्रहरीले प्राविधिक तथा भौतिक प्रमाण सङ्कलनको काम तीव्र रूपमा अगाडि बढाइरहेको जानकारी दिए ।

शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ । अनुसन्धान टोलीमा एसपी कटवाल स्वयं, लेटाङ प्रहरी प्रमुख र बेलबारी प्रहरी प्रमुखसहितको टोली खटिएको छ । स्थानीयवासीहरूले यस घटनामा संलग्न अपराधीहरूलाई कडा सजाय दिन माग गरेका छन् । साथै, घटनाको सत्य तथ्य पत्ता लगाउन सबैले आफ्नो तर्फबाट प्रहरीलाई सहयोग गर्न आग्रह गरेका छन् ।
(फोटो/ भिडियो – सुरज अधिकारी)


