काठमाडौँको प्लानिङ ब्वाईज आठौँ बेलबारी अन्तर्राष्ट्रिय रनिङ गोल्डकपको फाइनलमा


मोरङ । बेलबारीमा जारी आठौँ आरजु राइस मेजर स्व. एन. बी. रुङमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको फाइनलमा काठमाडौँको प्लानिङ ब्वाईज युनाइटेड क्लब प्रवेश गरेको छ। बिहीबार मोरङको बेलबारी–११, लक्ष्मीमार्गस्थित खेलमैदानमा सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक एल. एक्स. सिटी फुटबल क्लबलाई ३–० को स्पष्ट अन्तरले पराजित गर्दै प्लानिङ ब्वाईजले उपाधि यात्रालाई एक कदम अगाडि बढाएको हो।

खेलको चौथो मिनेटमै प्लानिङ ब्वाईजले अग्रता लिएको थियो। जर्सी नम्बर ११ का सविन लुङ्गेली मगरको पासमा जर्सी नम्बर १८ का चन्दन दासले सानदार गोल गर्दै टोलीलाई सुरुवाती बढत दिलाए। त्यसपछि आयोजक एल. एक्स. सिटीले केही मौका सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन। विशेष गरी जर्सी नम्बर १४ का विजय उरावको बलियो प्रहारलाई प्लानिङका गोलकिपर योगेश धिमालले कठिन प्रयासका साथ बचाएका थिए। त्यसपछि आयोजकका जर्सी नम्बर ९ का उज्ज्वल राईले प्राप्त एकल अवसर गोलमा परिणत गर्न असफल भए।

मध्यान्तरअघि नै दबाबमा रहेको एल. एक्स. सिटीलाई दोस्रो हाफमा थप चुनौती सामना गर्नुपर्‍यो। खेलको ३२औँ मिनेटमा आयोजकका गोलकिपरको हातबाट फुस्किएको बललाई प्लानिङका जर्सी नम्बर ७ का प्रतापसिंह राईले सदुपयोग गर्दै दोस्रो गोल गरे। त्यसको दुई मिनेटमै जर्सी नम्बर १० का रोमन भुजेलले एक्लै तीन डिफेन्डर छक्काउँदै पोस्टमा सानदार प्रहार गरे र टोलीको अग्रता ३–० मा पुर्‍याए।

खेलको उत्तरार्धमा आयोजकले आक्रामक प्रदर्शन गरे पनि गोल फर्काउन सकेन। त्यसमाथि, पहिले नै पहेँलो कार्ड पाएका प्लानिङका कप्तान गौरव श्रेष्ठले विपक्षी खेलाडीलाई पछाडिबाट लडाएपछि रातो कार्ड पाएका थिए, जसले खेलमा केही तनाव थपिएको थियो।

खेलको उत्कृष्ट प्रदर्शनका आधारमा प्लानिङका जर्सी नम्बर १० का रोमन भुजेललाई म्यान अफ द म्याच घोषित गरियो। उनले नगद रु ७,००० प्राप्त गरे। सेमिफाइनल खेलमा प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
अब प्लानिङ ब्वाईजले कार्तिक १ गते फाइनलमा भोलि हुने दोस्रो सेमिफाइनल खेलका विजेतासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनलमा सहलेश यूथ क्लब, सिराहा र भोजपुर फुटबल संघ, भोजपुरबिच खेल हुनेछ।

प्रतियोगितामा बेलबारी नगरपालिका मुख्य सहयोगी र आरजु राइस मिल मुख्य प्रायोजक रहेको छ। क्लबका अध्यक्ष विक्रम राईका अनुसार विजेता टोलीले नगद रु ८ लाख, उपविजेताले रु ४ लाख पुरस्कार प्राप्त गर्नेछन्। साथै, लगातार तीन वर्ष उपाधि जित्ने टोलीले ३ केजी चाँदी र डेढ तोला सुन जडित ट्रफी स्थायी रूपमा प्राप्त गर्नेछ।

प्रतिक्रिया दिनुहोस्