माओवादी केन्द्र र एकीकृत समाजवादीबिच एकता नजिक


काठमाडौँ । वामपन्थी शक्तिहरूबिच पुनः एकता गर्ने प्रयास तीव्र भइरहेका बेला नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बिच पार्टी एकीकरणको प्रारूपमा उल्लेखनीय प्रगति भएको छ। स्रोतका अनुसार, पार्टीको नाम, नीति तथा नेतृत्वका विषयमा दुवै पक्षबिच करिब सहमति बनेको छ भने केही प्राविधिक पक्षमा अझै छलफल जारी छ।

एकीकृत समाजवादीका एक नेताका अनुसार, विशेषतः चुनाव चिह्न र संगठनात्मक संरचनाबारे अन्तिम निर्णय बाँकी भए पनि एकता प्रक्रियाको रूपरेखा तयार भइसकेको छ। “दुवै पार्टीबिच वैचारिक तथा राजनीतिक दिशामा साझा बुझाइ बनेको छ,” उनले भने, “अब अन्तिम टुङ्गो कात्तिक मसान्तअघि नै लाग्ने सम्भावना छ।”

एकीकृत समाजवादीले कात्तिक १२ देखि १४ गतेसम्म केन्द्रीय समिति बैठक बोलाएको छ, जसले एकता प्रस्तावलाई अन्तिम रूप दिने तयारी गरेको छ। उक्त बैठकपछि माओवादी केन्द्रसँगको संयुक्त कार्यदलमार्फत एकीकरणको औपचारिक घोषणा गर्ने योजना रहेको बताइएको छ।

सुरुवाती चरणमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार वाम घटकबिच एकता गर्ने पहल भए पनि विप्लव समूह पछाडि हटिसकेको छ। अहिले भने माओवादी केन्द्र, एकीकृत समाजवादी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीबिच वार्ता सकारात्मक दिशातर्फ अगाडि बढेको छ।

संयुक्त पार्टीको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिने लगभग निश्चित भइसकेको छ। जबकि, माधवकुमार नेपाललाई सहसंयोजक वा अन्य जिम्मेवारीका भूमिकामा राख्ने विषयमा छलफल जारी रहेको एक पदाधिकारीले बताए।

एकता पश्चात् केन्द्रीय समितिको स्वरूप पनि तय हुँदै छ। प्रारम्भिक सहमति अनुसार माओवादी केन्द्रका ४०८ र एकीकृत समाजवादीका करिब ३४० सदस्य मिलाएर संयुक्त केन्द्रीय समिति बनाइने तयारी छ। यदि महिन्द्र राय यादवको पार्टी पनि मिसिने हो भने समितिको सदस्य संख्या आठ सयभन्दा माथि पुग्ने अनुमान गरिएको छ।

प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते तोकिएको र निर्वाचन आयोगमा दल दर्ताको अन्तिम म्याद कात्तिक ३० रहेको हुँदा, यी दलहरू द्रुत रूपमा एकताको दिशातर्फ उन्मुख भएका छन् ।

प्रतिक्रिया दिनुहोस्