जेनजी आन्दोलनका क्रममा तोडफोड र लुटपाटमा संलग्न १३२ जना पक्राउ


काठमाडौँ । जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले देशभरि नियन्त्रण र अनुसन्धानको अभियान तीव्र बनाएको छ । प्रहरीका अनुसार, राजधानी उपत्यकाबाट मात्रै हालसम्म १३२ जनालाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार, काठमाडौँ उपत्यकाबाट ९८ जना पक्राउ परेका छन् । उनीहरूमध्ये केही कर्तव्य ज्यान, लुटपाट, आपराधिक उपद्रो तथा अभद्र व्यवहारजस्ता गम्भीर मुद्दामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

‘अनुसन्धान सकिएका मध्ये ६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ,’ एसपी भट्टराईले बताए। ‘तीमध्ये ४ जना प्रहरी हत्या प्रकरणमा संलग्न छन् भने बाँकी २ जना आपराधिक उपद्रवका अभियुक्त हुन् ।’ उनका अनुसार, हाल पनि २२ जना हिरासतमा रहेका छन् भने केहीलाई हाजिरी जमानीमा रिहा गरिएको छ । आन्दोलनकै क्रममा कारागारबाट फरार भएका १३६ कैदीबन्दीलाई समेत पुनः पक्राउ गरी सम्बन्धित कारागारमा बुझाइएको उनले जानकारी दिए ।

त्यस्तै, ललितपुर प्रहरीले पनि आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न २४ जनालाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी चक्रराज जोशीका अनुसार, हतियारसहित पक्राउ परेका एक व्यक्ति र लुटपाटमा संलग्न एक भारतीय नागरिकसहित दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

भक्तपुरमा पनि आन्दोलनसँग सम्बन्धित घटनामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेका अनुसार, ती सबैलाई हाजिरी जमानीमा छोडिएको छ । तर हालसम्म भक्तपुर अदालतमा कुनै मुद्दा दर्ता भएको छैन ।

प्रतिक्रिया दिनुहोस्