मोरङ । बेलबारीका स्रष्टा एवम् राजनीतिकर्मी ईरानराईको नयाँ कृति ‘चुडेल्नी’ कथासङ्ग्रहको लोकार्पण सम्पन्न भएको छ । बेलबारी साहित्य विकास समितिको आयोजनामा बेलबारी-१ स्थित सगरमाथा इङ्ग्लिस स्कुलको सभाहलमा गरिएको उक्त कार्यक्रमले बेलबारीको साहित्यिक वातावरणलाई उत्सवमय बनाएको थियो ।
कार्यक्रमकी प्रमुख अतिथि पूर्व सांसद एवम् अग्रज स्रष्टा कुन्ता शर्माले कृतिको लोकार्पण गर्दै इरान राईको लेखनलाई समाजका वास्तविकता र संवेदनासँग गहिरो रूपमा जोडिएको र “चुडेल्नी” कथासङ्ग्रहले आधुनिक नेपाली कथासाहित्यमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिन्। कार्यक्रममा पूर्व सांसद तथा वरिष्ठ साहित्यकार हर्कमान तामाङ, संविधानसभा सदस्य एवम् जनगायिका मधु गुरुङ, प्राज्ञ खेम नेपाली, बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, अग्रज स्रष्टा शरण राई, समीक्षक मिश्र बैजयन्ती, विराटनगर प्रज्ञा-प्रतिष्ठानका सदस्य-सचिव दिनेशराज सुवेदी, र प्रगतिशील लेखक सङ्घ (प्रलेस) कोसी प्रदेशका अध्यक्ष विन्दु दाहाल ‘मूकदर्शक’ लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
साहित्यिक जमघटमा अच्छा रसिक राई साहित्य प्रतिष्ठानका अध्यक्ष केशव सुनाम, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, बेलबारी प्रज्ञा-प्रतिष्ठानकी अध्यक्ष रेखा सुवेदी, सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवाल, साथै देशभरका स्रष्टा, कलाकार, र साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा स्रष्टा नवराज पोखरेल ‘नवशिला’, प्रयाग न्यौपाने, उमेश लुइँटेल, चूडामणि नेपाल, चन्द्रकान्त भट्टराई लगायतले आफ्ना सिर्जनाहरू वाचन गरी माहौललाई अझ जीवन्त बनाए।
लोकार्पित कृतिमाथि दिनेशराज सुवेदी, विन्दु दाहाल ‘मूकदर्शक’, र शरण राईले टिप्पणी गर्दै “चुडेल्नी”ले ग्रामीण परिवेशका कथाहरूलाई आधुनिक दृष्टिकोणबाट प्रस्तुत गरेको र नेपाली समाजका अन्तर्विरोध र मानवीय संवेदनालाई सशक्त रूपमा चित्रण गरेको मूल्याङ्कन गरे। कार्यक्रममा समितिकी उपाध्यक्ष लक्ष्मी रेग्मीले उपस्थित अतिथिहरूलाई शब्दद्वारा स्वागत गरिन् भने सम्पूर्ण कार्यक्रमको संयोजन उमा सिजापती र शिव पराजुलीले आकर्षक ढङ्गले सञ्चालन गरेका थिए। कार्यक्रमको अध्यक्षता बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाले गरेका थिए।