गण्डकीमा मातृभाषा मान्यता दिइएकोमा बेलबारीमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न


बेलबारी । गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्न व्यवस्था गरिएको विधेयक पारित भएको खुसीयालीमा मोरङको बेलबारीमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ। तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बेलबारी र नेपाल मगर संघ बेलबारीको संयुक्त आयोजनामा बेलबारी नगरपालिका वडा नं. ३ स्थित पुरानो मालपोत लाइनमा आयोजित उक्त कार्यक्रममा गण्डकी प्रदेश सरकारलाई धन्यवाद दिइए ।

कार्यक्रममा सहभागी वक्ताहरूले प्रदेश सरकारको यो निर्णयलाई ऐतिहासिक, प्रेरणादायी र बहुभाषिक समाजको आत्मसम्मानसँग जोडिएको महत्वपूर्ण उपलब्धिका रूपमा मूल्यांकन गरे। उनीहरूका अनुसार यो निर्णयले आदिवासी जनजातिको मातृभाषाको संरक्षण, प्रवर्द्धन र सरकारी प्रयोजनमा प्रयोगको नयाँ ढोका खोलेको छ। दीप प्रज्वलनमार्फत सहभागीहरूले भाषिक पहिचान, अधिकार र समानताको पक्षमा लामो समयदेखि गरिएको आन्दोलनको स्मरण गर्दै एकताको सन्देशसमेत दिए ।

किरात राई ययोक्खाका केन्द्रिय वरिष्ठ उपाध्यक्ष तिलकप्रसाद राईले सम्बोधन गर्दै यो उपलब्धिलाई आदिवासी जनजातिहरूको निरन्तर संघर्षको परिणाम भएको बताएका छन् । उनले प्राप्त उपलब्धि आंशिक मात्र रहेको उल्लेख गर्दै अझै पूर्ण अधिकार प्राप्तिका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सबै प्रदेशलाई पहिचानसहितको नामकरण गर्नुपर्ने माग पनि उनले राखेका छन् ।

तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् मोरङका अध्यक्ष मनकुमार गुरुङले यस उपलब्धिलाई ऐतिहासिक भनेका छन्। तर, उनले अतीतको केही पक्षप्रति गहिरो खेद पनि व्यक्त गरेका छन्। उनका अनुसार विगतमा गण्डकी प्रदेशमा गुरुङ समुदायकै नेतृत्वमा पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुँदा पनि गुरुङ र मगर समुदायका संस्थाहरूले पटक–पटक आवाज उठाउँदा पनि भाषा सम्बन्धी माग सम्बोधन नभएको पीडा अझै बाँकी छ। “त्यो समयमा चाँडै सम्बोधन हुन सक्ने आशा गरिएको थियो, तर त्यो सम्भव भएन,” उनले भने।

हाल मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेतृत्व सम्हालेपछि भने सो माग सम्बोधन भएकोमा आफूहरू खुशी रहेको उनले स्पष्ट पारे। उनले भने, “हामीले धेरै समयदेखि उठाउँदै आएको मुद्दा अहिले आएर सम्बोधन भएको छ, यसले हामीलाई खुशी लागेको छ ।” भाषा केवल बोलचालको माध्यम मात्र नभएर सभ्यता र संस्कृतिसँग गहिरो रूपमा जोडिएको विषय भएको उल्लेख गर्दै गुरुङले भाषा जीवित सभ्यताको प्रतीक भएकाले यसको संरक्षण अत्यावश्यक रहेको बताए।

नेपाल मगर संघ बेलबारीका सचिव अमिर मगरले भाषा कुनै साधारण कुरा नभई सम्पूर्ण समुदायको अस्तित्वसँग गाँसिएको सांस्कृतिक सम्पदा भएको उल्लेख गर्दै यसको संरक्षणमा राज्यको भूमिका महत्वपूर्ण हुने बताए। गण्डकी प्रदेशको निर्णयले मगर समुदाय लगायत सम्पूर्ण भाषिक समूहहरूमा ऊर्जा थपेको उनको भनाइ थियो।
दीप प्रज्वलन कार्यक्रमले बेलबारीमा मातृभाषा र भाषिक अधिकारप्रति बढ्दो चेतना, सामूहिक चेतवानी र सहकार्यको सन्देश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्