टी–२० विश्वकप २०२६ मा नेपालको शानदार प्रवेश : लगातार दोस्रो पटक विश्वमञ्चमा खेल्ने पक्का


काठमाडौं । नेपाली क्रिकेटले फेरि अर्को ऐतिहासिक उपलब्धि हासिल गरेको छ । नेपालले आगामी सन् २०२६ को आइसिसी टी–२० विश्वकप, जो भारत र श्रीलंकामा हुने तय भएको छ, त्यसका लागि छनोट पक्का गरेको छ ।

यो नेपालका लागि लगातार दोस्रो र समग्रमा तेस्रो पटक टी–२० विश्वकपमा सहभागिता जनाउने अवसर हुनेछ । यसअघि नेपालले सन् २०१४ र २०२४ मा टी–२० विश्वकप खेलिसकेको थियो ।

ओमानमा जारी आइसिसी एसिया–इएपी छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सुपर–६ चरणमा शीर्ष तीनभित्र पर्ने सुनिश्चित भएपछि नेपालले विश्वकपको टिकट पाएको हो ।

सुपर–६ को नियमअनुसार शीर्ष तीन टोलीले सन् २०२६ को विश्वकपमा स्थान पाउने व्यवस्था छ । बुधवार सम्पन्न खेलमा युएईले सामोआलाई ७७ रनले पराजित गरेपछि नेपालको शीर्ष तीन स्थान पक्का भएको हो ।

त्यसअघि नै सुपर–६ मा लगातार दुई खेल जित्दै नेपालले ६ अङ्क जोडिसकेको थियो । युएई र कतारका नतिजा नेपालका पक्षमा आएपछि नेपालले ओमानसँग खेल्नुअघि नै विश्वकप यात्रा सुनिश्चित गरेको हो । नेपालसँगै आयोजक ओमान पनि विश्वकपका लागि छनोट भइसकेको छ । सुपर–६ तालिकामा दुवै टोली ६–६ अंकसहित शीर्ष दुई स्थानमा छन् ।

अब बाँकी दुई खेलले केवल तालिकाको शीर्ष स्थान निर्धारण गर्नेछन्, तर दुवै टोलीको विश्वकप सहभागिता निश्चित भइसकेको छ । नेपालले पछिल्ला वर्षहरूमा निरन्तर उकाली चढ्दै विश्व क्रिकेटमा आफ्नो उपस्थिति मजबुत बनाउँदै आएको छ । यो सफलता नेपाली क्रिकेटका खेलाडी, प्रशिक्षक र समर्थकहरूका लागि गौरवको क्षण बनेको छ ।

क्रिकेट विश्लेषकहरूले पनि यस उपलब्धिलाई नेपाली क्रिकेटको “सुनौलो निरन्तरता” भन्दै आगामी विश्वकपमा नेपालबाट ऐतिहासिक प्रदर्शनको अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्