मोरङ । राजधानी काठमाडौँको बि–डिभिजन लिग विजेता प्लानिङ ब्वाइज युनाइटेड क्लबले सिरहाको सहलेश युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै आठौँ बेलबारी आरजु राइस मेजर स्व. एन.बी. रुङमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको उपाधि हात पारेको छ।
शनिबार मोरङको बेलबारी–११, लक्ष्मीमार्गस्थित खेलमैदानमा सम्पन्न फाइनलमा प्लानिङ ब्वाइजले खेलको पाँचौं मिनेटमै जर्सी नम्बर ९ का सुजन मगरको उत्कृष्ट गोलबाट अग्रता लिएको थियो । खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो।
सहलेशका जर्सी नम्बर ५ कुलदिप कार्कीको डिबक्स नजिकबाट गरेको शक्तिशाली प्रहार बारमा ठोक्किएर फर्किएपछि पहिलो हाफमा बराबरीको मौका गुम्यो ।
मध्यान्हपछि खेलको दोस्रो हाफ सुरु भएको दुई मिनेटमै सहलेशका जर्सी नम्बर ७ समीर तामाङले जर्सी नम्बर १० मिलन राईको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए।
तर, खेलको २०औँ मिनेटमा पुनः प्लानिङका जर्सी नम्बर ९ सुजन मगरले दोस्रो गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए, जुन नै निर्णायक बन्यो। खेलको ३१औँ मिनेटमा सहलेशका जर्सी नम्बर ३ दीपेश धिमालले डिबक्स नजिक फाउल गरेपछि रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।
सहलेश युथ क्लबले यसअघि भोजपुर फुटबल संघलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो भने प्लानिङ ब्वाइजले आयोजक एल.एक्स. सिटी फुटबल क्लब, लक्ष्मीमार्गलाई स्तब्ध पार्दै फाइनल यात्रा तय गरेको थियो ।
फाइनल खेलको प्रमुख आतिथ्य बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राई रहेका थिए । विजेता प्लानिङ ब्वाइज युनाइटेड, काठमाडौँले नगद ८ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्यो भने उपविजेता सहलेश युथ क्लब, सिरहाले ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो।
प्रतियोगिताका व्यक्तिगत विधातर्फ प्लानिङ ब्वाइजका जर्सी नम्बर ७ प्रताप सिंह राईलाई सर्वोत्कृष्ट खेलाडी (Best Player of the Tournament) घोषित गरियो । उनले नगद २५ हजार रुपैयाँ प्राप्त गरे।
त्यस्तै, उत्कृष्ट गोलकिपर : योगेश धिमाल (प्लानिङ ब्वाइज), उत्कृष्ट प्रशिक्षक : सचिन्द्र धिमाल (प्लानिङ ब्वाइज), सर्वाधिक गोलकर्ता : सुजन मगर (प्लानिङ ब्वाइज) र आशिष शाक्य (सहलेश) – समान २ गोल, श्रेष्ठ डिफेन्डर : मिङ्मा घिसिङ (प्लानिङ ब्वाइज), श्रेष्ठ मिडफिल्डर : रमन भुजेल (प्लानिङ ब्वाइज), यी सबैले समान ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। फाइनल खेलको म्यान अफ द म्याच सहलेशका जर्सी नम्बर ७ समीर तामाङ घोषित भए, जसले ७ हजार रुपैयाँ प्राप्त गरे।
प्रतियोगिताको ट्रफीमा ३ किलो चाँदी र डेढ तोला सुन जडान गरिएको छ । उक्त ट्रफी स्थायी रूपमा जित्नका लागि कुनै एक क्लबले लगातार तीन वर्ष उपाधि जित्नुपर्ने नियम रहेको छ ।