पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेमा अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरीशनिश्चरे गोल्डकप-२०८३ असोज १७ गतेदेखि सुरु हुने भएको छ । आयोजक पथरी-११ फुटबल क्लबले प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्दै उद्घाटन खेलमा आयोजक पथरी-११ एफसी मोरङ र भारतको युनाइटेड कुर्सेङ फुटबल क्लब (यूकेएफसी) बीच प्रतिस्पर्धा हुने जनाएको छ ।
प्रतियोगिता असोज १७ देखि २४ गतेसम्म पथरीशनिश्चरे-१ स्थित पथरी रंगशाला, जाँते मोडमा सञ्चालन हुनेछ । प्रतियोगिताका सबै खेल दिउँसो ३ बजे सुरु हुने आयोजकले जनाएको छ । यसअघि सार्वजनिक गरिएको कार्यक्रमअनुसार प्रतियोगिता असोज २६ गतेसम्म सञ्चालन गर्ने तयारी रहे पनि पछिल्लो सार्वजनिक खेल तालिकामा फाइनल खेल असोज २४ गते राखिएको छ ।
खेल तालिकाअनुसार असोज १८ गते न्यु रोड टिम (एनआरटी) काठमाडौं र सलहेश युवा क्लब सिरहाबीच प्रतिस्पर्धा हुनेछ । असोज १९ गते थ्री स्टार क्लब ललितपुर र झापा-११ फुटबल क्लब आमनेसामने हुनेछन् । त्यस्तै, असोज २० गते नेपाल पुलिस क्लब काठमाडौं र रेड हर्स फुटबल क्लब इलामबीच खेल हुनेछ ।
पहिलो चरणका खेलबाट विजयी टोलीहरू क्वार्टरफाइनल हुँदै सेमिफाइनलमा पुग्नेछन् । असोज २१ गते पहिलो सेमिफाइनल तथा असोज २२ गते दोस्रो सेमिफाइनल खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल असोज २४ गते हुने छ ।
प्रतियोगितामा आयोजक पथरी-११ सहित नेपालका ए डिभिजन क्लब, मोफसलका चर्चित टोली तथा भारतको युनाइटेड कुर्सेङ फुटबल क्लब गरी १० टोली सहभागी हुनेछन् । प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ तथा उपविजेताले ३ लाख रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
आयोजकका अनुसार प्रतियोगिताका लागि करिब ८० लाख रुपैयाँको अनुमानित बजेट तय गरिएको छ । सहभागी टोलीको व्यवस्थापन, रेफ्री पारिश्रमिक, मैदान व्यवस्थापन, सुरक्षा, प्रचारप्रसार, फोटो तथा भिडियो, साउण्ड सिस्टमलगायत शीर्षकमा खर्च हुने जनाइएको छ । पथरीशनिश्चरे नगरपालिकाले पनि प्रतियोगिताका लागि सहयोग गर्ने भएको छ ।
पथरी-११ फुटबल क्लबका अध्यक्ष सुमन विकका अनुसार गोल्डकपलाई केवल फुटबल प्रतियोगिताका रूपमा मात्र नभई खेलाडीको प्रतिभा प्रवर्द्धन, युवा विकास र खेल पूर्वाधार निर्माणसँग जोडिएको अभियानका रूपमा अघि बढाइएको छ । प्रतियोगिताबाट बचत हुने रकम खेल मैदानको स्तरोन्नति तथा पूर्वाधार विकासमा उपयोग गर्ने आयोजकको योजना छ ।



