फागुन २१ को निर्वाचनमा सहभागी नहुने घोषणा : अध्यक्ष ओली


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ मा हुने निर्वाचनमा आफू सहभागी नहुने स्पष्ट घोषणा गरेका छन्। केन्द्रीय कमिटी बैठकको समापन अवसरमा सम्बोधन गर्दै उनले बाँकी चार महिनाभित्र चुनाव नहुने र नहुने चुनावमा पार्टी सहभागी नहुने स्पष्ट पारे।

ओलीले बैठकमा भने, “अब बाँकी ४ महिना छ, चुनाव हुँदैन, नहुने चुनावमा हामी जानु हुन्न। संसद् पुनर्स्थापना हुनुपर्छ,” उनले थपे। उनका यो घोषणामा उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले प्रतिवाद गरेपछि हलमा केहीबेर हलचल पनि देखिएको थियो।

अध्यक्ष ओलीले आफ्नो राजीनामाबारे पनि स्पष्ट धारणा राखेका छन्। उनले भने, “केही साथीले राजीनामा माग्नुभएको छ। म ५५ वर्षदेखि सानो टुक्रो आन्दोलन बोकेर आएको छु। मेरो काँधमा जिम्मेवारी छ, त्यो पूरा नगरी छोड्दिनँ।” साथै उनले आफ्नो राजीनामाबारे आगामी महाधिवेशनमा छलफल हुने र प्रतिनिधिहरूसँग निर्णय मागिने बताए। “मेरो राजीनामा महाधिवेशनमा छलफल गरौँला। पार्टीलाई तिक्तताका साथ अघि नबढाऔँ, मित्रताका साथ जाऔँ,” उनले भने।

यस घोषणाले नेकपा (एमाले) को आन्तरिक राजनीतिक स्थिति र आगामी निर्वाचनमा पार्टीको रणनीतिमा ठुलो प्रभाव पार्ने अनुमान गरिएको छ। अध्यक्ष ओलीले स्पष्ट रूपमा आफ्नो जिम्मेवारी पूरा नगरी राजीनामा नदिने संकेत दिँदै पार्टीमा स्थिरता र एकता कायम राख्ने सन्देश पनि दिएका छन्।

प्रतिक्रिया दिनुहोस्