बेलबारीमा पर्यटन पदमार्ग तथा कछुवा संरक्षण केन्द्र निर्माण हुने


बेलबारी । बेलबारीमा पर्यटन पदमार्ग तथा कछुवा संरक्षण केन्द्र निर्माण हुने भएको छ । उक्त निर्माण कार्यको लागि बेलबारी नगरपालिकाले प्रारम्भिक अध्ययन तथा अवलोकन कार्य पनि सुरु गरेको छ ।

बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईका अनुसार २०८२ साल देखी कोशी प्रदेश सरकारले ८२ वटा गन्तव्यसहितको पर्यटन वर्ष घोषण गरेकोमा दुई वटा घोषित गन्तव्य बेलबारीमा रहेको छ । उक्त गन्तव्य बेलबारी १, ३ र ४ मा रहेको बेतना सिमसार क्षेत्र र बेलबारी ५ मा रहेको धनपालगडी थान हो ।

पार्य-पर्यटन विकासको उद्देश्यसहित पर्यटन पदमार्ग तथा कछुवा संरक्षण केन्द्र निर्माण गर्न लागेको राईले बताए । धनपालगडी देखी बेलबारी १० मा रहेको सृजना पार्क, बेतना सिमसार, वडा नं.१ मा रहेको अमना सिसौली हुँदै वडा नं.२ मा रहेको रमितेसम्मको पदमार्ग निर्माण गर्ने तयारी रहेको राईले बताएका छन् ।

बेलबारीमा रहेको सिमसार क्षेत्रहरूमा लोपोन्मुख तथा दक्षिण एसियामा नै नपाइने कछुवा रहेको राईको दाबी रहेको छ । सोही कारण कछुवा संरक्षणको निम्ति प्रदेश सरकारले बजेट विनियोजन गरेको राई जानकारी दिएका छन् । राईले भने, ‘यहाँ रहेको लोपोन्मुख कछुवा अहिले नै संरक्षण नगरे मासिने छ । पर्यटन पदमार्ग तथा कछुवा संरक्षण केन्द्र निर्माणको लागि प्रदेश  सरकारको सहयोगमा अहिले निर्माण कार्य सुरु हुने छ, थप सङ्घीय सरकारलाई पनि निवेदन गर्ने छौ ।’

राईका अनुसार विशेष गरी बेतना र सिसौली सिमसार क्षेत्रमा अहिले पाइने कछुवाहरूको कता र कसरी प्राकृतिक रूपमा संरक्षण गर्ने भनेर कछुवा विज्ञ कपिल प्रकाश राईसहित भूगोलको प्रारम्भिक अवलोकन गरिएको छ । राई भन्छन्, ‘मन्छेसँगै सिमसार भित्र पाइने विभिन्न किसिमका जनवारबाट कछुवा असुरक्षित छ । यती अब पनि संरक्षण गर्न नसके यस क्षेत्रबाट नै मासिने अवस्थामा पुगेको छ ।’ संरक्षण गर्न सके बेलबारीमा पाइने कछुवाले देश भित्र मात्रै नभएर विश्वभरि बेलबारीको परिचय दिलाउने राई बताउन ।

कछुवा संरक्षण कर्मी कपिल प्रकाश राईका अनुसार बेतनामा ६ किसिमको कछुवा पाइन्छ । विगतमा कछुवा विशेषज्ञहरूबाट भएको अनुसन्धानबाट बेतनामा ४ किसिमको नरम खपटे कछुवा २ किसिमको कडा खपटा कछुवा भेटिएको कपिलले बताए । जस मध्य भएको अति सङ्कटपन अवस्थामा रहेको नरम खपटे कछुवा भेटिएको हो । कपिलका अनुसार उक्त कछुवा नेपालको कुनै ठाउँमा पनि पाइँदैन । सिमसार क्षेत्रमा मानवजन्य क्रियाकलाप बढी भएकोले कछुवा संरक्षणमा चुनौती रहेको उनले बताए । तसर्थ उनले न्यूनीकरण गर्न आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्