मोरङ । बेलबारी–११, लक्ष्मीमार्गमा जारी आरजु राईस मेजर स्वर्गीय एन.बी. रुङमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप फुटबल प्रतियोगितामा प्लानिङ ब्वाईज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न क्वार्टरफाइनल खेलमा प्लानिङ ब्वाईजले धनकुटाको रारा फुटबल क्लबलाई ०-१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
खेलको एक मात्र निर्णायक गोल पहिलो हाफको अतिरिक्त २ मिनेटमा प्लानिङका जर्सी नम्बर ११ का सविन लुङ्गेली मगरले गरे । उनले विपक्षी डिफेन्सको कमजोरीको फाइदा उठाउँदै गोल गर्दै टोलीलाई जित दिलाए । पहिलो हाफ प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीका खेलाडीले आक्रामक खेल प्रस्तुत गरेका थिए । सोही क्रममा रारा क्लबका जर्सी नम्बर ११ का प्रदीप लामा, ९ का प्रशान्त लक्सम, ८ का विशाल घलान र प्लानिङका जर्सी नम्बर ३ का रुजन न्यौपानेले पहेँलो कार्ड पाएका थिए ।
खेलमा उत्कृष्ट प्रदर्शन गर्ने सविन लुङ्गेली मगर म्यान अफ द म्याच घोषित भए । उनले नगद ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । अब प्लानिङ ब्वाईज युनाइटेडले सेमिफाइनलमा आयोजक एलएक्स सिटी फुटबल क्लबसँग असोज ३० गते प्रतिस्पर्धा गर्नेछ । मङ्गलवारको खेलमा संविधानसभा सदस्य माननीय मधु गुरुङ प्रमुख अतिथि रहेका थिए ।
प्रतियोगिताको अर्को क्वार्टरफाइनल खेलमा भोलि चर्च ब्वाईज युनाइटेड क्लब, ललितपुर र सहलेश यूथ क्लब, सिरहाबिच प्रतिस्पर्धा हुनेछ । बेलबारी नगरपालिका मुख्य सहयोगी र आरजु राईस मिल मुख्य प्रायोजक रहेको गोल्डकपको विजेता टोलीले नगद ८ लाख रुपैयाँ, उपविजेताले ४ लाख रुपैयाँ पाउने छन् ।