काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन आगामी मङ्सिर महिनाभित्रै सम्पन्न गर्नुपर्ने सुझाव दिएका छन् ।
बिहीबार सुरु भएको नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै कोइरालाले अन्य राजनीतिक दलहरू महाधिवेशनको तयारीमा जुटिसकेको सन्दर्भ उल्लेख गर्दै काँग्रेसले पनि ढिला नगरी तय गरिएको समयमा नै महाधिवेशन सम्पन्न गर्नुपर्ने धारणा राखे ।
उनले भने, “अन्य राजनीतिक दलहरू मङ्सिरमै अधिवेशन गर्ने तयारीमा छन् भने हामी किन पछि पर्नु ? काँग्रेसलाई नयाँ दिशा र सम्भावना भएको पार्टी बनाउन चाहने हो भने मङ्सिर महिनाभित्र महाधिवेशन गर्नुपर्छ ।”
कोइरालाले पछिल्ला दिनमा पार्टीभित्र सञ्चालित हस्ताक्षर अभियानले काँग्रेसलाई ऊर्जा दिएको बताउँदै भने, “यी सबै प्रयासको अन्त्य केवल ताजा र नियमित महाधिवेशनले मात्र सम्भव छ ।” उनका अनुसार बैठकमा महामन्त्रीले समेत महाधिवेशनसम्बन्धी प्रस्तावहरू प्रस्तुत गरेका छन्, जसबारे अन्तिम निर्णय केन्द्रीय समितिबाटै हुने अपेक्षा गरिएको छ ।