सहलेश यूथ क्लब सेमिफाइनलमा : ललितपुर ३–१ गोलअन्तरले पराजित


मोरङ । सिरहाको सहलेश यूथ क्लबले उत्कृष्ट प्रदर्शन गर्दै आठौँ बेलबारी अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । मोरङको बेलबारी–११, लक्ष्मीमार्गस्थित मैदानमा बुधवार भएको रोमाञ्चक क्वार्टरफाइनल खेलमा सहलेशले चर्च ब्वाईज युनाइटेड क्लब, ललितपुरलाई ३–१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

खेलको सुरुवातमै चर्च ब्वाईजका जर्सी नम्बर ९ का आकाश राईले २५औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर त्यसपछि खेल सहलेशका पक्षमा फर्कियो । पहिलो हाफकै ३७औँ मिनेटमा सहलेशका जर्सी नम्बर १७ का आदित्य शाक्यले गोल गर्दै खेल बराबरीमा ल्याए ।

मध्यान्तरपछि सहलेशले झनै आक्रामक प्रदर्शन गर्‍यो । दोस्रो हाफको चौथो मिनेटमा जर्सी नम्बर ८ का जय गुरुङले गोल गर्दै सहलेशलाई अग्रता दिलाए । खेलको १३औँ मिनेटमा पुनः आदित्य शाक्यले गोल गरेपछि सहलेशले ३–१ को निर्णायक जित हात पार्‍यो ।

आजको उत्कृष्ट प्रदर्शनका लागि सहलेशका जर्सी नम्बर १७ का आदित्य शाक्य ‘म्यान अफ द म्याच’ घोषित भए । उनले पुरस्कार स्वरूप ७ हजार रुपैयाँ प्राप्त गरे । खेलमा नेपाली काँग्रेस मोरङका सचिव ललित श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । अब सहलेश यूथ क्लबले सेमिफाइनलमा भोजपुर फुटबल संघसँग असोज ३१ गते प्रतिस्पर्धा गर्नेछ ।

बेलबारी नगरपालिकाको मुख्य सहयोग र आरजु राईस मिलको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा विजेता टोलीले नगद ८ लाख रुपैयाँसहित ३ केजी चाँदी र डेढ तोला सुनजडित ट्रफी प्राप्त गर्नेछ । उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने क्लबका अध्यक्ष विक्रम राईले जानकारी दिएका छन् ।

प्रतियोगिताको यो ट्रफी जित्न कुनै पनि क्लबले लगातार तीन वर्षसम्म उपाधि जित्नुपर्ने नियम रहेको छ । स्वर्गीय मेजर एन.बी. राईको स्मृतिमा उनका छोराहरू पोपिराज राई र ज्योतिराज राईले रनिङ गोल्डकपको सौजन्य गरेका हुन् । भोलिको पहिलो सेमिफाइनलमा आयोजक एलएक्स फुटबल क्लब, लक्ष्मीमार्ग र बि डिभिजन लिग विजेता प्लानिङ ब्वाईज युनाइटेड क्लब, काठमाडौँबिच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस्