ग्रामथानमा जबरजस्ती करणी प्रकरणका फरार दुई अभियुक्त पक्राउ


मोरङ । मोरङको ग्रामथान गाउँपालिका-४ मर्चेनियामा आंशिक सुस्त मनस्थितिकी युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा फरार रहेका दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । गत असोज १७ गते राति करिब १०ः३० बजे ग्रामथान-४ मर्चेनियाकी युवतीमाथि रंगेली नगरपालिका-१ बस्ने २२ वर्षीय आपताब माझी थारु र सोही ठाउँका २५ वर्षीय भोला चौधरीले जबरजस्ती करणी गरी घटनास्थलबाट फरार भएका थिए । पीडित युवतीका बुबाले मिति २०८२ असोज २२ गते इलाका प्रहरी कार्यालय (इप्रका) बेलबारीमा उजुरी दर्ता गराएका थिए ।

उजुरी दर्ता भएलगत्तै प्रहरीले दुवै फरार अभियुक्तको खोजी अभियान सुरु गरेको थियो । यही असोज २८ गते साँझ करिब ५ः५० बजे, इप्रका बेलबारीबाट खटिएको प्रहरी वरिष्ठ नायब निरीक्षक (प्र.ब.ना.नि.) डम्बर बहादुर थापाको नेतृत्वमा गएको टोलीले अभियुक्तहरूलाई ग्रामथान गाउँपालिका–४ मोतिपुरबाट पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीमै राखिएको छ । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानपछि कानुनी प्रक्रिया अघि बढाइने तयारी भइरहेको छ । प्रहरीले बलात्कारजस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिलाई कुनै हालतमा नछोडिने र पीडितलाई न्याय दिलाउन सम्पूर्ण कानुनी प्रक्रिया निष्ठापूर्वक अघि बढाइने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्