बेलबारी २ का १५ वर्षका रित्तिकले विद्युतीय बाइक बनाए


बेलबारी । मोरङको बेलबारी नगरपालिका वाड नं. २ निवासी वर्ष १५ का इन्द्रजित शाह (रित्तिक)  ले विद्युतीय बाइक निर्माण गरेका छन् । रित्तिकले कवाडीको सामाग्रीको सदुपयोग गर्दै विद्युतीय बाइक बनाएका हुन ।

नेपालमा कक्षा ९ मा अध्ययनरत १५ वर्षका बालबालिकाहरूको समय अधिकांश खेल्ने र पढ्नेमा मात्र बित्ने गर्छ । तर रित्तिक भने त्यत्तिमा मात्रै सीमित छैनन् । उनी खेलकुदसँगै विभिन्न बिग्रेका उपकारणसँग खेल्न रुचाउँछन् । उत्सुकतापूर्वक सृजनात्मक विषयको अध्ययन गर्ने र निर्माण अभ्यासमा लागिरहन्छन् ।

यही सृजनात्मक अभ्यासले रित्तिकले बाइक बनाउन सफल भएका छन् । रित्तिकका अनुसार यस अघि पनि १ वर्ष अगाडी कक्षा ८ मा पढ्दा १४ वर्षको उमेरमा नै विद्युतीय साइकल बनाएका थिए । ६ महिना भन्दा बढी त्यस साइकलमा विद्यालय पनि गएको रित्तिक बताउँछन् ।

विद्युतीय साइकल बनाउँदा शिक्षक, घरपरिवार, साथीहरूले दिएको स्याबासी र हैँसालाले पुनः अहिले १ वर्ष पछि त्यही प्रेरणाले बाइक बनाउन सफल भएको रित्तिक बत्ताउँछन् । उनले अहिले बनाएको बाइकलाई एक पटक चार्ज गरे पछि करिब ३० देखी ४० किलोमिटर सरर कुद्ने क्षमता रहेको छ । उनले घरमा नै चार्ज गर्ने ठाउँ पनि बनाएका छन् ।

रित्तिकले बनाएको बाइक पेट्रोलले चल्ने भन्दा धेरै सजिलो रहेको छ । न पेट्रोल भर्न पर्ने चिन्ता, न त गियर परिवर्तन गरिरहनु पर्ने । चाबी अन गरेर एक्सिलेटर चलाए पछि कुनै आवाज ननिकाली बाइक चल्छ । नेपालमा यतीको क्षमता भएको विद्युतीय बाइकको मूल्य लाखै रुपौँया पर्छ । तर रित्तिकले भने कवाडीमा पाएको सामाग्रीको सदुपयोग गरेका हुन ।

उनका अनुसार बाइकको फ्रेम कवाडीबाट रु.५ हजारमा खरिद गरेका हुन । बाइकको मोटर, मिटर डिस्प्ले, हेड लाइट लगाएका बाइक निर्माणमा प्रयोग भएको सामाग्री कुल ४० हजार लागत लागेको रित्तिकले जनाए । आर्थिक स्रोत भए अझैँ राम्रो बाइक निर्माण गर्न सकिने रित्तिक बताउँछन् ।

रित्तिकको बुवा सुनिल शाह आर्थिक अभावकै कारण वैदेशिक रोजगारमा छन् । आमा बबिता शाह ठेलामा प्याजी, आलुचप बच्चे गर्छिन् । भविष्यमा सोचे जस्तो छोरालाई पठाउन सकिन्छ सकिँदै भन्ने आमालाई चिन्ता छ । तर रित्तिकले पढ्दै कमाउँदै आफै सोचे जति, सोचे जस्तो पढ्न सकोस् भन्ने कामना गर्छिन् ।

रित्तिकका अनुसार उनको पढाई ठिक ठिकै छ तर विज्ञान उनको सबै भन्दा बढी मन पर्ने विषय हो । उनी पनि आमाले सोचे जस्तै पढ्दै भविष्य निर्माण गर्न चाहन्छन् । इन्जिनियरिङ पढ्ने रित्तिकको चाहाना छ । उपकरण निर्माणमा पनि आफ्नै आर्थिक व्यवस्थापनमा काम गर्ने उनी बताउँछन् ।

कलिलो उमेर भए पनि आफै आत्मनिर्भर बन्ने रित्तिकको सोचले अभावको दुखेसो हैन इच्छा शक्तिले उपाय सृजना गर्नु पर्छ भन्ने सन्देश दिन्छ । रित्तिकलाई सरकारको पनि नजर पुगे र उनको सृजनात्मक कार्यको संरक्षण गर्न सके, भविष्यमा बेलबारीको लागि मात्र हैन देशकै लागि अमूल्य सम्पत्ति हुने थियो ।

प्रतिक्रिया दिनुहोस्